
काठमाडौं : औद्योगिक घराना पञ्चकन्या ग्रुपको नेतृत्वमा नयाँ पुस्ता आइसकेको छ । संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले इलाममा किराना पसलबाट सुरु गरेको व्यावसायिक यात्रा इँटा उद्योग हुँदै पञ्चकन्या ग्रुपसम्म आइपुग्यो । अहिले यो देशकै प्रतिष्ठित व्यावसायिक घराना भइसकेको यो परिवारको नाति पुस्ताले पञ्चकन्या ग्रुप हाँकिरहेको छ । प्रेमबहादुरका छोराहरू ध्रुवकुमार र प्रदीपका छोराहरूले पञ्चकन्या ग्रुपलाई औद्योगिक प्रतिष्ठानका रूपमा अघि बढाएका छन् । ध्रुवका छोरा उज्ज्वल र प्रदीपकुमारका छोरा उदीप एवं आशिकले ग्रुप सम्हालेका छन् । पञ्चकन्या ग्रुपको लगानी ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, शिक्षा, स्टिल, जलविद्युत्मा छ ।
पाँच दशकदेखि पञ्चकन्या ग्रुप नेपाली ब्रान्ड बनिसकेको छ । भैरहवाको कोटिहवामा पञ्चकन्या प्लास्टिक, पञ्चकन्या आइरन र पञ्चकन्या स्टिलको उद्योग स्थापना गरेसँगै पञ्चकन्याले आफ्नो व्यापारमा निरन्तर बढाइरहेको छ । संयुक्त परिवारका रूपमा काम गरिएको पञ्चकन्यामा अहिले तेस्रो पुस्ताले कम्पनीको नेतृत्वमा सघाइरहेका छन् । अहिले कम्पनीमा प्रदीप श्रेष्ठ प्रबन्ध निर्देशकसँगै बन्द्री श्रेष्ठ र उज्जल श्रेष्ठ, उदीप श्रेष्ठ कार्यकारी निर्देशक छन् । यस्तै, आषिक श्रेष्ठ पञ्चकन्याको निर्देशकका रूपमा छन् । हजुरबुवाले सुरु गरेको उद्योगको नेतृत्व कान्छा नाति आषिकसम्म आइपुगेको छ ।