
बर्दिया : बर्दियाको ठाकुरबाबामा जल तथा मौसम विज्ञान विभागको आयोजनामा पर्वानुमान तथा पूर्वतयारीका लागि प्रारम्भिक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेसनल नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित 'प्रयास परियोजना'को आर्थिक तथा प्राविधिक सहयोगमा सो अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूलाई प्रदान गरिने मौसम पूर्वानुमानको आधार, सूचना प्रवाहको विधि, स्थानीय तहमा प्रयोग हुने डिजिटल उपकरण र पूर्वसूचना संयन्त्रको महत्वबारे विस्तृत जानकारीले प्राकृतिक विपद् विशेषगरी बाढी, डुबान र चट्याङ जस्ता जोखिमका घटनापूर्वको जानकारीले प्रसारण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुऱ्याउने नगरपालिकाले जनाएको छ ।
सोमबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, पालिकास्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, रेडक्रसका पालिकास्तरीय प्रतिनिधि, स्थानीय प्रहरीलगायतको सहभागिता रहेको छ ।
कार्यक्रमले स्थानीय तहमा मौसमसम्बन्धी सचेतना र समयमै सूचना प्रवाह गर्न सहयोग पुग्ने सहभागीहरूको विश्वास छ ।