
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । नयाँ जर्सीले कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काएको छ ।
जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन्, जसले एकता, शक्ति र गतिशीलतालाई जनाउने क्लबले जनाएको छ । त्यसै गरी, त्रिकोणीय प्याटर्नले साहस र दृढताको प्रतिनिधित्व गर्छ भने काँधमा रहेको एपाउलेटले नेतृत्व र गर्वको प्रतीक प्रस्तुत गर्छ ।
क्लबका अनुसार, ‘द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार गरिएको यो जर्सी केवल खेल पोशाक नभई पहिचान, उत्साह र गर्वको प्रतीक हो । खेलाडीहरूका लागि यो जर्सी कवचजस्तै र समर्थकहरूका लागि आशाको ध्वजाजस्तै रहेको बताइएको छ ।
विराटनगर किङ्स एनपीएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।