
उदयपुर : उदयपुरमा यात्रुवाहक विंगर दुर्घटनामा परी चालकसहित १२ जना घाइते भएका छन्।
त्रियुगा नगरपालिका–४ शान्तिचोक नजिक गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्बरको विंगर सोमबार अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो । प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीलाई उपचारपछि डिस्चार्ज गरिएको छ भने केहीको अवस्था अनुसार बाहिरका अस्पतालमा रेफर गरिएको छ ।
दुर्घटनामा परेका चालक सप्तरी हनुमाननगरका २६ वर्षीय उपेन्द्र साह समेत हाल जिल्ला अस्पतालमा उपचाररत छन् ।
डिस्चार्ज भएका घाइतेहरूमा त्रियुगा–११ संगमटोलका ७४ वर्षीय पूर्णबहादुर राई, सोही ठाउँकी १७ वर्षीया प्रजिता बि.क., ओखलढुंगा खिजिदेम्बाका ४५ वर्षीय तिर्थ घिमिरे, सप्तरी सुरुङ्गाकी २७ वर्षीया चन्द्रमाया चौधरी र उनकी ४ वर्षीया छोरी एरिना चौधरी, काठमाडौं गोकर्णेश्वरका ४४ वर्षीय शम्भुराज पोखरेल रहेका छन् ।
यस्तै, उपचाररत घाइतेहरूमा त्रियुगा–११ की ६० वर्षीया रामकुमारी राई, त्रियुगा–१२ का ४४ वर्षीय ज्ञानेन्द्र बि.क., त्रियुगा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रियुगा–२ खैजानपुरका ७७ वर्षीय कमलबहादुर खड्का, ५७ वर्षीय नरबहादुर खत्री र चालक उपेन्द्र साह रहेका छन् । प्रहरीले दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।