
काठमाडौं : काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा स्थानीयले फेरि अवरुद्ध पारेका छन् । बञ्चरेडाँडाका स्थानीयले पुराना तथा केही नयाँ माग पूरा नभएको भन्दै दोस्रो दिन पनि आन्दोलन गर्दै करिब ३०० फोहर बोक्ने गाडी रोकेका छन् ।
धुनिबेँसी–३ का वडाध्यक्ष प्रकाश हमालका अनुसार बुधबार सहरी विकासमन्त्री कुलमान घिसिङसँगको वार्ता निष्कर्षविहीन बनेपछि आज पनि स्थानीयले ल्यान्डफिल साइटमै आन्दोलन जारी राखेका छन् । स्थानीय अमृत तामाङले पनि नयाँ माग थपिएको र महानगरले वार्तामा बोलाएर समाधान खोज्नुपर्ने बताइन् ।
काठमाडौं महानगरपालिकाले भने स्थानीयका माग पूरा भइसकेका दाबी गर्दै गाडी तोडफोडसम्बन्धी मुद्दा फिर्ता लिनुपर्ने कारणले अनावश्यक आन्दोलन भइरहेको प्रतिक्रिया दियो । यद्यपि मन्त्री घिसिङले १५ दिनभित्र समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा गर्न सकेका छैनन् ।