
विराटनगर : नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा बेलुनमा पानी भरेर रातो मसी छ्याप्ने युवाहरू नेपाली कांग्रेसका कार्यकर्ता रहेको खुलेको छ ।
आइतबार सुनसरीको इटहरीमा आयोजना भएको युवा भेलाका लागि विराटनगर आएका बस्नेतको गाडीमा एयरपोर्ट गेटबाट निस्कँदै गर्दा केही युवाले रातो रङ घोलिएको पानी भरेको बेलुनले हानेका थिए ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार बस्नेतको गाडीमा मसी हान्ने दुई जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर-१ का २५ वर्षीय सञ्जोग गौतम र २ नम्बर वडाका १९ वर्षीय अर्पित कुँवरलाई पक्राउ गरेको छ ।
उनीहरू दुबै जना कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता रहेको खुलेको छ । गौतम नेविसंघ (शेखर समूह) महेन्द्र मोरङ क्याम्पस इकाइ समिति सभापति हुन् । महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ ।
गौतम यसअघि पनि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेको विषयमा विवादमा तानिएका थिए । नेविसंघ मोरङका एक नेताका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनी पार्टी गतिविधिमा त्यति सक्रिय छैनन् । उनी जेनजी आन्दोलनमा सहभागी भएका थिए । पक्राउ परेका अर्का कुँवर पनि नेविसंघकै कार्यकर्ता हुन् ।
गौतम नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं निकट मानिन्छन् । उनले चापागाईंको सचिवालयमा पनि काम गरेका थिए । चापागाईंले उनीहरू जेनजी आन्दोलनपछि पार्टीको गतिविधिमा सक्रिय नरहेको बताएका छन् ।