
विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीले आफ्नो स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको दुव्र्यवहार र आक्रमणको प्रयासप्रति गम्भीर आपत्ति जनाएको छ ।
आइतबार विराटनगर विमानस्थलबाट इटहरीतर्फ जाँदै गर्दा बस्नेत नेतृत्वको टोलीमाथि योजनाबद्ध रूपमा भिड जुटाई ढुंगा प्रहार, बाटो अवरुद्ध गर्ने तथा शारीरिक आक्रमणको प्रयास गरिएको एमालेले आरोप लगाएको छ ।
प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गरेर उक्त घटना अपराधिक, दुःखद् र पूर्ण रूपमा निन्दनीय रहेको बताएका छन् । राजनीतिक व्यक्तित्वमाथि यो शैलीको आक्रमणले लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रहार भएको एमाले कोशीले टिप्पणी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ''हालैका घटनाप्रति सरकारले आवश्यक ध्यान नदिएको र अपराधी समूहलाई खुला संरक्षण मिलेको जस्तो देखिएकोले सुरक्षा संवेदनशील बन्दै गएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न आग्रह गर्दछौं ।''
एमालेलाई राजनीतिक द्वन्द्व, नेतामाथि आक्रमण र सामाजिक हिंसा भड्काउने गतिविधि कुनै हालतमा स्वीकार्य नहुने भन्दै खतिवडाले चुनाव, सभासम्मेलन र जनआन्दोलन लोकतान्त्रिक अभ्यास भएकाले यस्ता आक्रमणले जनताको अधिकारमा धक्का लागेको टिप्पणी गरेका छन् ।
अध्यक्ष खतिवडाले शान्तिपूर्ण राजनीतिक अभ्यास र नागरिक सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा यस्ता कुरा नदोहोर्याउन चेतावनी दिएका छन् ।