–बद्री अधिकारी
चराचुरुङ्गीको चिरविर चिरविर आवाजले शान्त वातावरणलाई बिथोली रहेको थियो । मेरो आँखामा उसको मुहार नाँची रहकोले गर्दा बाहिरी वातावरणको मनमोहक दृश्यले मलाई आकर्षित गर्न सकिरहेको थिएन । प्रिय वस्तु टाढा भएपछि मानिसको मनलाई बिथोल्न काफी हुँदोरहेछ । साँच्चै मेरो मन पनि उसको पर्खाइमा बेचैन हुँदै थियो । मेरो बेचैनीलाई कस्ले बुझ्ने ! आफ्नै मान्छेले नबुझे पछि ! म यो कुरा कसैसँग साझा गर्नपनि सक्दिनँ र सक्ने कुरा पनि भएन । मेरी आमा मेरो सबै कुराको साझेदार हुँदाहुँदै पनि मेरो र उस्को माया प्रेमका कुरा सुनाउन सकिरहेकी थिइनँ । मेरी आमाले उस्लाई पनि निकै माया गर्नु हुन्थ्यो, गाउँको असल केटा ठानेर । हामी एउटै क्याम्पस पढ्दै थियौं । बि.ए.को दोस्रो वर्षमा । आज उस्ले मलाई बेतना सिमसार बोलाएको थियो । सिमसारको गेटले मलाई पनि अरूलाई जस्तै उभिएर स्वागत गरिरहेको थियो । म टिकट काटेर भित्र प्रवेश गरेँ । गोरेटो बाटोको दायाँबायाँ विभिन्न जातका फूलहरू फुलेका देखिँदै थिए । नजिकै रहेको सभाहलमा आउने जाने मानिसहरू दोहोरो क्रम चलिरहेको थियो । अगाडि बढ्दै मैले हातमा रहेको मोबाइलमा आँखा डुलाएँ । म आइपुगेको ३० मिनेट बितिसकेछ । प्रतिक्षाले मान्छेमा बेचैनी बढ्दो रहेछ । छट्पटीले धेर्यता गुम्दो रहेछ । मेरो बेचैनी मन उसँग क्रोधित हुँदै थियो । अवश्य आउनेछ भन्ने भरोसाले उप्रति क्रोधित भएको मेरो मनलाई सान्त्वना दिइरहेको थियो । म अलिकता मास्तिर लागेँ । छेकेर बनाइएको पोखरीमा मछाहरू खेलिरहेका देखिँदै थिए । उस्को प्रतिक्षामा छट्पटीएको मेरो मनलाई पोखरीमा आहाराको खोजिमा सलबलाई रहेका माछाको मनमोहक दृश्यले शान्ति प्रदान गरिरहेको थियो ।
यस्तो रमणिय स्थानको अबलोकनले केही समय मनको पीडाबाट मुक्ती मिल्दोरहेछ । साच्चै मान्छेको मन पनि बिछट्टको हुँदोरहेछ । त्यो मनमोहक दृश्यावलोकनले समय ब्यतित भएको मलाई हेक्कानै भएन । अचानक आफ्ना आँखा कसैका हातले पछाडी उभिएर छोपिदिएकोले म झस्किएँ । छोप्नेका हातहरूलाई छामे । हातहरू चिनेझै लाग्यो । असाध्यै मलाई मायागर्ने उही मेरो मायलु रूपेशपो रहेछ । मैले बिस्तारै आफ्ना आँखा बाट उस्का दुबै हात हटाउदै झर्किदै हातमा रहेको मोबाईलमा टायम हेर्दै भने । “कस्तो लाज नभएको निर्दयी मान्छे.....दुई÷दुई घण्टा अर्कालाई कुर्न लगाउने ।”
“ननिरासाउ न प्यारी...आमाले घरायसी सामाग्री खरिदका लागि बजार पठाउनु भयो र पो ढिलो भयो । तिमिसँग भेट्नु छ भन्न मिलेन !” उस्ले मेरो छेउमा बस्दै मायालु स्वर ओकल्यो ।
“कति समयसम्म हाम्रो प्रेमको कुरा लुकाउने ! एकदिन त भन्नै पर्छ ।” म ठुस्स परेर रिसाएझैं गरेँ । ममा पनि परिवारलाई उस्को र मेरो माया प्रीतिको कुरा सुनाउने आँट चैं थिएन ।
मेरो हातमा खुल्ला रहेको भुजाको पोकोबाट भुजा निकाल्दै पोखरीका माछालाई उ चारो हाल्न थालेथ्यो एकाग्र भएर । हाम्रो प्रेम यति झाङिई सकेको थियो कि हरेक दिन एकपटक एक अर्कासँग बोल्न पायौंन भने मणि हराएको सर्प जस्तो हुने गर्दथ्यौँ । यस्लाई के भन्ने ! आसक्ति या उपाशनिय प्रेम ।
म र रूपेशबीच त्यो दिन धेरै समयसम्म प्रेमको कुरा भए । प्रेमी प्रेमिकाले समय ब्यतित भएको होसनै पाउँदा रहेनछन् । हामीलाई पनि त्यस्तै भएको थियो । अर्को शनिबार फेरि घुम्न आउने वाचाका साथ मन नलागि नलागि घर तिर लागेका थियौँ ।
हाम्रो प्रेमको बारेमा क्याम्पसमा धेरै जसो विद्यार्थीलाई थाहा थियोे । कतिपय शिक्षकले पनि लख काटेको हुनसक्छ । रूपेशले पनि त्यो महसुस गरेको हुनुपर्छ ! किनकी सबैको सामु उ मसँग धेरै कम बोल्न थालेको थियो । घरीघरी लाइब्रेरीमा म एक्लै भएको मौकामा उ नजिक आउथ्यो पुस्तक पढने बहानामा । यदाकदा कोही नभएको मौका छोपेर म उसको गालामा म्वाई खाइदिन्थेँ ।
“धत् के गरेको अरूले देख्छ्न् । त्यसै त कुरा कटनेको संख्या बढिरहेको छ ।” मेरो नाक निमोठ्दै उ मुस्कुराउथ्यो ।
म पनि मस्किदै भनिदिन्थेँं, “डर छेरूवा ।”
“नकच्चरी...” यति भन्दै उ मलाई अँगालो मारेर अफ्ना ओँठ मेरा ओठमा जोडी दिन्थ्यो । म अत्तालिदै उसलाई घचेटेर आनन्दको अनुभूत गर्दै त्यहाँबाट भागेर बाहिरिने गर्दथेँ । मैले उसँग पौँठाजोरी नखेलेको भए उसमा यति ठूलो साहस उत्पन्न हुँदैनथ्यो । म आफूले आफैलाई दोषी मान्दै मन मनै मुस्कुराउथेँ । प्रेम पनि बिचित्रको हुँदो रहेछ ! मायालुको गल्ती चैँ नदेख्ने । त्यसैले प्रेम अन्धो हुन्छ भनिएको रहेछ क्यारे ! कथन जन्मदातालाई मनमनै धन्यवाद दिएकी थिएँ । यसैगरी आनन्द साथ दिनहरू बितिरहेका थिए ।
मेरो यो खुसी सुखी जीवनमा अचानक ग्रहण लागेकोले आँखामा निन्द्रा, पेटमा भोक थिएन । आमा र मेरा साथिहरूले बारम्बार सोधिरहेका थिए, “के भयो आजकल तिमिलाई ?”
मसँग उनीहरुको प्रश्नको जवाफमा बोल्ने शब्द नै थिएनन् । म केवल असमञ्जस भावले उनीहरूलाई टुलुटुलु हेरि रहन्थेँ । भनौँ कसरी ! त्यो कुरो सर्वव्यापक भयो भने ! मनमा त्यो विचार उब्जना साथ हातखुट्टा लुलिन्थे, डरले शरीर थरथरी काम्दथ्यो । मभित्रको चञ्चलता तुसारोले कठ्याङ्ग्रीन्थ्यो । सायद रूपेशलाई पनि मेरै जस्तो भइरहेकै होला । फोनको घण्टीले मेरो तन्द्रा भंग भयो । सिरानी मुनिको मोबाइल ढल्केको अवस्थामै उठाएँ । रूपेशको फोन रहेछ ।
“हेल्लो ! तिमी निदाएकी छैनौँ ?” उताबाट आएको रूपेशको बोझिलो स्वर कानमा ठोकियो ।
“उहुँ ....।“ मेरो असजिलो स्वर कोठामा छरियो ।
“विक्रान्तलाइ भोलि एउटा मोबाइल किनिदिनु पर्ला ! त्यो जस्तो जोरीखोजासँग सहज रूपले पिण्ड छुटाउन सकिँदैन । मसँग भएकोले पुग्दैन होला ।तीनहजार तिमिसँग छ ?”
“त्यतित पुग्छ होला ।”
भयभीत मान्छे मुक्तिको लागि झटपट तयार हुँदोरहेछ । हामीलाई मुक्ति चाहिएको थियोे अनि त्यस्को बदलामा विक्रान्तलाई मोबाइल । विक्रान्त फटाहा स्वभावको र उसका साथीहरू पनि त्यस्तै थिए । हामी गाई प्राणी कसरी उनीहरूसँग भिडन्त गर्न सक्दथ्यौँ । बलवानले मौका मिलाएर कमजोरसँग फाइदा उठाउदो रहेछ । विक्रान्तले पनि हामीसँग फाइदा लिइरहेको थियो । मनले नमान्दा नमान्दै पनि हामी लाचार थियौँ विक्रान्तको फर्माइस पुरा गर्न ।
खुसुक्क विक्रान्तले लाइब्रेरीमा पसेर रूपेश र म जीस्कनु, इत्रिनु गरिरहेको अबस्थाको फोटो र पाँच सेकेण्डको भिडिओ बनाउन भ्याएछ । जस्मा रूपेशले मेरा ओठमा म्वाइ खाइरहेका लाजमर्दो दृश्य प्रस्टै देखिन्थ्यो । त्यही भिडिओ र फोटो देखाएर उ हामीलाई धम्क्याउदै थियो । सिधै भनौं उ हामीलाई ‘ब्ल्याकमेल’ गरिरहेको थियो । रूपेश र मैले बिक्रान्तसँग असंख्य पटक विन्तिभाउ ग¥यौं । उसँगको हाम्रो फोटो र भिडिओ डिलेट गरिदिनु भनेर । कसाईको अगाडी बाख्राको आँसुको के अर्थ ! पटक–पटकको बिन्तिभाउ पछि उसले एउटा राम्रो मोबाइल दिएमा डिलेट गरिदिने बचन दिएको थियोे ।
बाजको पन्जामा परेको परेवाले जस्तो अनुभव गर्छ, त्यस्तै अनुभूति भैरहेको थियो हामी द्वयलाई । मोबाइल दिँदा दुष्ठको पञ्जाबाट छुटकारा पाउने झिनो आशले मेरो मनको एउटा कुना रमाएको थियो । सायद रूपेशले पनि शान्तिको स्वास फेर्न थालेको थियोे होला ! यो मेरो अनुमान मात्र हो । जीवनमा आफूले गरेका धेरै अनुमानमध्ये कतिपय अनुमान यथार्थमा परिणत भएका थिए । झिनो यहि आशाको त्यान्द्रोको सहाराले हिमालयको उचाई छिचोल्दै सुख स्थापित गर्ने इच्छा बोकि अर्कोतिर फर्केकी थिएँ निदाउने उपक्रम गर्दै । हामीबाट मोबाइल हात पारेपछि फोटो र भिडिओ डिलेट गर्न आलटाल ग¥यो । बचन पुरा गर भनी हामीले कर गर्दा उल्टै धम्कि दिन्थ्यो ।
“अरे बबा... दुईचार दिनभित्र गरिदिन्छु । रडाको मच्चाउने हो भने सबैतिर साझा गरिदिन्छु ।” इमानदारिताको पहिचान सिष्टतासँग जोडिएको हुन्छ भन्ने ज्ञान त्यो दिन मलाई पलाएको थियो । अभद्र मान्छे कसरी इमानदार हुन्छ ?
“अर्काको भर भोकभोकै मर ।” यो उखान मेरो जीवनमा पहिलोपटक चरितार्थ भएथ्यो । विक्रान्तलाई हाम्रो फोटो र भिडिओ दुहुनो गाई भएको थियो । उसँग वैरभाव बढाउने पक्षमा पनि थिएनौं । उसको कुरा स्विकार्नु नै हाम्रा लागि हितकर थियो । हामीलाई दोहन गर्न पाउन ज्याल उसले हाम्रो कमजोरी सार्वजनिक गर्दैन भन्नेमा हामी आशावादी थियौँ । उसको धुत्र्याइँ प्रतिदिन बढिरहेकोले हामी आजित भैसकेका थियौं । लाजमर्दो कुरामा साथी र आफन्तलाई सुनाएर सर सहयोग लिन सक्ने स्थिती पनि थिएन । रूपेश लोग्नेमान्छे म जति डराएको थिएन होला ! तर मेरो चै नौनारी गलेको थियो, मस्तिष्कमा यहि कुराले डेरा जमाएकोले गर्दा ।
आज शरीरभरि आलस्य छाएकोले म क्याम्पस जाने मुडमा थिइनँ । आमाले मेरो लामाकेश सुमसुम्याउदै औधी मायालु स्वरमा सोधिरहनु भयो, “आजकाल तिमिलाई के भएको छ भनेर ?”
आमाको स्नेहले मभित्र भित्रै क्रमिक रूपले पग्लदै थिएँ । अधमरो भएको मेरो शरीरभरि केही ताजापन महसुस हुँदै थियो । आमा घरी मेरो केश त घरी पिठ्युँ सुमसुम्याई रहनु भएको थियो । आमाको ममता साच्चिकै शक्तिशाली हुँदोरहेछ । शक्ति प्रदानकर्ता आमाको सामुन्ने म निष्ठुरी हुन नसक्ने अबस्थामा पुगिसकेकी थिएँ । आखिर अतीतमा मेरा सबै कुराको साझेदार र प्रिय परामर्शदाता हुनु भएकै थियो । झन अप्ठ्यारो परिस्थितिमा असल सल्लाहकार हुन नसक्ने कुरै भएन । म आमालाई झ्याम्मै अँगालो मारेर क्वाँ क्वाँ रून थाले । उहाँले पनि मलाई छातीमा टाँसेर स्नेहपूर्ण ढंगले मेरो पिठ्युँ सुमसुम्याइ रहनुभयो । केही क्षणको रूवाई पछी मैले आमालाई रूपेशसँगको प्रेम र विक्रान्तले हामीमाथि गरेको सबै अत्याचारको आद्योपान्त वर्णन गरेँ ।
“रूपेश तिम्रो लागि योग्य नै छ । आखिर तिमीहरू एक अर्कासंँग प्रेम गर्दछौ । माया गर्नेबीच त्यतिको छेडछाडलाई स्वभाविक मानिन्छ । जहाँसम्म विक्रान्तको कुरा छ, तिमिहरू डराउनन्जेल उसले तिमिहरूलाई धम्याई रहन्छ । डरले मान्छेलाई कायर बनाउछ । कायरता मुक्तिको उपाय होइन । तिमी क्याम्पस जान तयार हौ । म कानूनविद्संँग सल्लाह गरेर विक्रान्तको पन्जाबाट तिमीहरूलाई छुटकारा दिलाउनेछु । म माथी भरोसा राख ।” आमा मलाई शात्वना दिदै भान्सा तिर लाग्नुभयो । आमाको आश्वासनपछि मभित्रको डर केही मत्थर भएकोले क्याम्पस जाने तयारीमा जुटेँ ।
आफूलाई आइलागेको आपत बाबु आमालाई सुनाउदा समाधानका उपाय स्वयम् आफूभित्र स्वस्फूर्त उत्पन्न हुँदा रहेछन् । क्याम्पस जाँदा आज चैँ मेरो मन हल्का र फूर्तिलो भएको अनुभूति हुँदै थोयो । रूपेश र म हतारमा कक्षाकोठा तिर लाग्दै थियौं । अचानक विक्रान्तले बाटो छेक्दै जिस्क्यायो । “के छ त प्रेमिहरू ! आजत टिफनमा नास्ता खुवाउने हैन ?”
“अर्काको के आश गर्छौं । आफू किनेर खान सक्दैनौं ! हुतीहारा ।” मैले झर्कदै जवाफ दिएँ ।
“जो चोर उसको ठूलो स्वर ! नत्र फेरि...।” उ हातमा भएको मोबाइल हामीलाई देखाउँदै थियो ।
उसको ठूलो स्वरलाई उछिन्दै म झन कड्किए, “के गर्छौ ? हाम्रो भिडिओ र फोटो तिमीसँग छ भनेर धम्क्याएको ! अब तिम्रो धम्कीले हामी डर्नेवाला छैनौं ।” यति भन्दै चितुवाको वेगले झम्टेर विक्रान्तको हातको मोबाइल खोसेर पिच सडकमा वेगले पछारेँ । हेर्दा हेर्दै मोबाइल चकनाचुर भएर छरपस्ट भयो । उसले कल्पनासम्म नगरेको घटना मद्वारा घटिसकेको थियो । उ विस्मित साथ घरी मलाई घरी मोबाइलका यत्रतत्र छरिएका टुक्राटुक्रीलाई हेरिरहेको थियो । उसलाई म चोरीऔंला ठड्याउदै सिंहले झैँ गर्जिएँ ।
“विक्रान्त ! तैंले अझै हामीलाई र हाम्रा साथीहरूलाई यस्तो दुःख दिइस भने साइबर क्राइमअन्तर्गतको मुद्दामा तँलाई जेलनेल ठोक्ने छौं । हाम्रो परिवारलाई रूपेश र मेरो प्रेमको बारेमा जानकारी छ । निकट भविष्यमा हाम्रो विवाह हुँदैछ । निम्तो गरौंली आउन मनलागे आउनु ।” क्रोघले म तिमीबाट तँ मा उत्री सकेकी थिएँ । मेरो शरीर थरथर कामिरहेको थियो । स्वासको गति तिब्र भएकोले स्वा...स्वा.. हुँदै थिएँ ।
विक्रान्त कालोनिलो हुँदै शिर निहुराएर असहाय तरिकाले उभिएको थियोे । सायद मेरो परिवर्तित रूपबाट उ चकित भएको थियो क्यारे । उसको च्याँखे मैले अचानक मारेकोमा उ हतास देखिँदै थियो । दुई÷चार जना विद्यार्थीहरूले हामीलाई गोलाकार रूपले छेकेर घटनालाई उभिएर उत्सुकतासाथ हेरिरहेका थिए । घटना उत्सुकता जन्माउने खालको नै भइरहेको थियो । उभिएर हेर्नेहरूको आँखामा मेरो लागि स्याबासी झल्किरहेको देखिन्थ्यो । हेर्नेहरूले विक्रान्तलाई खुच्चिङ भनेर केवल मुख फोर्न सकेका थिएनन् झैँ भान हुन्थ्यो । मेरो पिठ्यूँमा धाप मार्दै रूपेशले हर्षित स्वरमा भन्यो । “क्याबात..! मेरी सिंहनी हिम्मतवाली ! क्लास लागिसक्यो होला ! अब ढिला नगरौं ।”
विक्रान्त शिर निहुराएर उभिएको उभिएकै थियो । उ बिरोधमा बोल्ने र हाम्रो बाटो छेक्ने कुनै काम गर्न सकिरहेको थिएन । उ कमजोर भएको छ भन्ने त्यहाँ उपस्थित सबैले मापन गरिसकेका थिए ।
मैले सरसर्ती रूपेशलाई हेरेँ । उसको ओठमा मुस्कान नाचिरहेको थियो । साहसले बौरिएको खुसी संँगाल्दै म पनि रूपेशको हात समाएर कक्षा कोठा तिर लागेँ मनमनै रमाउँदै ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies