
काठमाडौं : नेपाल हिन्दु समाजले हाल केही व्यक्ति तथा समूहले बौद्ध गुम्बाहरूमा हातहतियार लुकाइएको दाबी गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । समाजले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आरोप आधारहीन, कपोलकल्पित र धार्मिक सौहार्द भंग गर्ने उद्देश्यले फैलाइएको दाबी गर्दै सो आरोपको खण्डन गरेको छ ।
विज्ञप्तिमा बुद्ध जन्मेको देश नेपाललाई शान्ति र बौद्ध शिक्षाको विश्व–केन्द्रका रूपमा स्थापित गर्नुपर्ने राष्ट्रको जिम्मेवारी रहेको उल्लेख छ । तर गुम्बाजस्ता पवित्र धार्मिक स्थलमा हतियार लुकाइएको आरोप लगाउनु बौद्ध धर्म, आस्था तथा धर्मगुरुप्रति ठाडो प्रहार भएको समाजले जनाएको छ ।
समाजले यस्ता आरोपबाट बौद्ध धर्मावलम्बीहरूमा परेको मनोवैज्ञानिक आघातप्रति दुःख व्यक्त गर्दै हिन्दु–बौद्ध समुदायबीच सदियौंदेखि रहँदै आएको मेलमिलाप भड्काउन खोजिएको आरोप लगाएको छ ।
समाजले भनेको छ, “यस्ता मनगढन्त आरोपहरूले समुदायबीच घृणा, अविश्वास र द्वन्द्व फैलाउने उद्देश्य बोकेको जस्तो देखिन्छ ।”
विज्ञप्तिमा आरोप लगाउने व्यक्तिहरूले आफ्नो दाबी प्रमाणसहित सार्वजनिक गर्न चुनौती दिइएको छ । प्रमाणित भएमा नेपाल हिन्दु समाज र बौद्ध धर्मगुरुहरूले संयुक्त रूपमा सम्बन्धित गुम्बाविरुद्ध सरकारी कारबाही माग गर्ने जनाइएको छ ।
तर यदि प्रमाणबिनै अफवाह फैलाइएको हो भने आरोप लगाउनेहरूलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ । माफी मागेमा समाजले बौद्ध समुदायसँग समेत क्षमादानका लागि सिफारिस गर्ने उल्लेख छ ।
यति नभए समाज र बौद्ध धर्मगुरुहरूले मिलेर आरोप फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ ।
विज्ञप्तिमा गुम्बा प्रवेशका आफ्नै धार्मिक विधि–विधान तथा नियम रहेको उल्लेख गर्दै ध्यान, शिक्षा, दीक्षा तथा अभ्यासका लागि गुम्बा सबैका लागि खुला रहने कुरा स्पष्ट पारिएको छ ।
गुम्बालाई शान्त स्थल मानेर अनावश्यक भीडभाड वा होहल्ला निषेधित हुने भएकाले त्यसलाई ‘रहस्यमय’ भन्दै अफवाह फैलाउने प्रयासको समाजले घोर भत्सर्ना गरेको छ ।
