२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

पुसमा महाधिवेशन ‘पक्का’ गर्ने प्रयास

shivam cement
जीवन शर्मा
२०८२ मंसिर १२ गते ०६:३०
Shares
पुसमा महाधिवेशन ‘पक्का’ गर्ने प्रयास

काठमाडौं : नेपाली कांग्रेसमा चर्कंदै गएका १५औं महाधिवेशनको विवाद मिलाउन शीर्ष नेताहरूबीच गहन संवाद भएको छ । त्यसका लागि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बिहीबार रातिसम्म छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन ।  

विधानबमोजिम पार्टीको आवधिक महाधिवेशन÷विशेष महाधिवेशनका सन्दर्भका नेताबीच चुलिँदै गएको असमझदारीले कांग्रेस संकटपूर्ण अवस्थामा पुगेको छ । कांग्रेसलाई लयमा फर्काउन आगामी पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने र विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय गर्ने प्रयास जारी रहेको उच्च स्रोतको दाबी छ । विवादमुक्त सहमति गर्न शुक्रबार बोलाइएको केन्द्रीय समितिको बैठक सर्ने सम्भावना बढेको छलफलमा सहभागी एक नेताले बताए । संस्थापन पक्ष निर्वाचन अगाडि महाधिवेशन गर्ने कार्यतालिका ल्याउन सकारात्मक बनेपछि मध्यमार्गी प्रस्तावको तयारीका लागि सभापति कार्यवाहक सभापति र महामन्त्रीद्वयको छलफल जुटेका थिए । महाधिवेशन गर्ने कि गर्न खोज्ने भन्ने विषयमा विशेष महाधिवेशन पक्षधर सशंकित छन् ।  संस्थापनका नेताहरू नियमित महाधिवेशनको कार्यतालिका ल्याएर विशेषलाई निष्क्रिय गराएपछि महाधिवेशनसमेत सार्न सकिने योजनामा छन् ।  

संस्थापन पक्षका सात भाइ भनेर चिनिएका नेताहरू कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ शशांक कोइराला, विजय गच्छदार र प्रकाशशरण महतसहितको टोलीले आमनिर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्ने अड्डी कसेका छन् । यता महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा, संस्थापनइतरको सिंगो टिम र संस्थापनकै ३० जनाभन्दा बढी केन्द्रीय नेता चुनावअघि महाधिवेशन हुनुपर्ने पक्षमा छन् । महामन्त्रीसहितको एउटा समूहले विशेष महाधिवेशनमा जोड दिएका छन् ।  तर इतर समूहका नेता डा. शेखर कोइराला पार्टी विभाजनबाट बचाउन सबैको चित्त बुझ्नेगरी पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने मध्यमार्गी योजनामा छन् । सभापति पक्ष र महामन्त्री पक्षधर नेताहरूले आफ्नो एजेन्डा थप कडा बनाउँदै जाँदा पार्टी फुटको अवस्थामा जान सक्ने काठमाडौंमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् । असोज २८ गतेदेखि चलेको केन्द्रीय समितिको बैठक उनीहरूकै कारण अनिर्णयको बन्दी बनेको कांग्रेसको गाँठो फुकाउने अन्ततः सभापति शेरबहादुर देउवाले नै छलफल बोलाएर सबै मिलेर जान अनुरोध गरेका थिए ।  छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘सभापतिले पार्टीमा विभाजन नहुने गरेर सबैको सल्लाहअनुसार काम गर्नुस् भन्नुभएको छ ।  उहाँको यसै गर्नुस् भन्ने कुनै निर्देशन छैन । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने कि विशेषमा जाने भन्ने शीर्ष संवाद जारी छ ।’ 

जेनजी आन्दोलनबाट सत्ता कब्जा भएको एक महिनापछि पहिलोपटक सार्वजनिक भएका देउवा असोज २८ यता निष्क्रिय थिए । आन्दोलनका क्रममा आक्रमणमा परेका उनले सोही दिन पार्टी केन्द्रीय कार्यालय सानेपा बैठकलाई सम्बोधन गर्दै सक्रिय राजनीतिबाट बिदा भएको सन्देशसहित उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै बिदाइ भएका थिए । कात्तिक १० गते थप उपचारका लागि सिंगापुर गएका उनी १८ दिनको बसाइपछि कात्तिक २८ मा स्वदेश फर्किएका थिए । 

यसबीचमा कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूले आफ्ना धारण राख्ने काम सके पनि निर्णयमा पुग्न नसकेर अल्झिएको गाँठो फुकाउने नाममा सभापति देउवाले पार्टीमा फेरि सक्रियता देखाएको नेताहरूले बताएका छन् । पार्टीको सक्रिय राजनीतिबाट बिदा भएँ भनेका देउवाले बिहीबार आफूनिकटका १० नेताहरूसँग छलफल गरेका हुन् । उनले सात भाइबाहेक कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वगृहमन्त्री रमेश लेखकसँग संवाद गरेका हुन् । 

देउवासँगको भेटमा ती नेताहरूले प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्न नहुने कुरा राखेका प्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले बताए । उनले भने, ‘निर्वाचनअघि पार्टीको महाधिवेशन गर्दा थप क्षति हुने कुरा सभापतिसँग  राख्यौं । कुनै ठोस निर्णय वा रणनीति तय गर्नेगरी कुराकानी भएन । तर सभापतिज्यूले हामीले राखेका कुरा बुझ्नुभएकै कुरा हो ।’ तर देउवाले  नेताहरूलाई समस्या समाधान गरेर जान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

। संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाले विगतदेखि उठाउँदै आएको चुनावअघि नियमित महाधिवेशनको पक्षमा मत बलियो बन्दै गएको छ । नेता डिला संग्रौलाले चुनावअघि नै महाधिवेशन गरेर जानुपर्ने बताएकी छन् । उनीसहित संस्थापन पक्षका २४ जना केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाइसकेका छन् ।  सबैतिरबाट चुनावअघि नै महाधिवेशनको माग बढ्दै गएपछि देउवाले त्यसलाई स्वीकार गरेर जाने अवस्था बन्दै गएको नेताहरूले बताएका छन् । तर देउवानिकटका सात भाइ नेताहरू भने चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानबाट पछि हटेका छैनन् । उनीहरू पुस अन्तिममा नियमित महाधिवेशनको कार्यतालिका ल्याउने, विशेष महाधिवेशनको हस्ताक्षरलाई निष्क्रिय बनाउने, वडास्तरको अधिवेशन गराउने र केन्द्रीय महाधिवेशनलाई पछि धकेल्ने खेलमा लागेका छन् । तर कागजमा देखाउनका लागि मात्रै ल्याइने कार्यतालिका अमान्य हुने विशेष महाधिवेशन पक्षधरले चेतावनी दिएका छन् ।       

केन्द्रीय सदस्य मधु आचार्यले प्रतिनिधि सभाको निर्वाचनअघि कांग्रेसले कुनै हालतमा नयाँ नेतृत्वसहितको नयाँ नीति अबलम्बन गरेर जानुको विकल्प नभएको बताए । उनले मध्यान्हसँग भने, ‘कांग्रेसमा जीवनभर खाइपाई आएकाहरूले आफ्नो जीवन सकिएसँगै पार्टीको भविष्यसमेत सक्न लागेका छन् । शीर्ष नेताहरूले आमचुनावअघि नै महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याए ठिकै छ, नत्र विधानअनुसार विशेष महाधिवेशन रोकिँदैन, हामी विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्छौं ।’ पार्टी बचाएर जनतामाझ सकारात्मक उपस्थिति देखाउनका लागि नयाँ पुस्ताका नेताहरूले टेकओभर गर्नुपर्ने उनको तर्क छ ।  

तर संस्थापन पक्षका नेताहरूको चाहना आगामी प्रतिनिधि सभाको निर्वाचनमा टिकट बाँडेर मात्रै महाधिवेशन गर्नुपर्ने दाबी छाडेका छैनन् । उनीहरू आमचुनावमा अन्तिमपटक समानुपातिकमा बस्नेदेखि आफूअनुकूलका व्यक्तिलाई टिकट दिलाउने अन्तिम प्रयासमा छन् ।  

आगामी महाधिवेशनका सन्दर्भमा निर्णय लिन बिहीबारका लागि सारिएको केन्द्रीय समितिको बैठकसमेत शुक्रबारलाई सारेर नेताहरू समस्या समाधान निकाल्न निरन्तर छलफलमा छन् । सहमति जुटाउन कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी छ । इतर समूहका नेताहरूले नियमित महाधिवेशनको समय घर्किएकाले आमनिर्वाचनअगावै विशेष महाधिवेशन गरेर नीति, नेतृत्व र एजेन्डासमेत नयाँ लिएर जनतामाझ जानुपर्ने अडान कायम राखेका छन् ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय समितिमा हस्ताक्षरसहितको निवेदन पेस गरेका छन् । विधानतः निवेदन दिएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था छ । सो समय पुस २८ सम्मको छ । राजनीतिक सरकार अपदस्थ भएसँगै आएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ का लागि चुनाव घोषणा गरेर आवश्य तयारी गरिसकेकाले आन्तरिक महाधिवेशनमा अल्झिँदा पार्टीलाई क्षति पुग्ने पूर्वउपसभापति विमलेन्द्र निधीले बताए । ‘कांग्रेसले चुनावमा भाग लिने भनेर निर्णय नै गरिसकेकाले फागुन २१ को चुनावको तयारीमा जुट्नुपर्ने हुँदा महाधिवेशनका लागि समय पुग्दैन, पार्टीलाई क्षति पुग्छ । त्यस कारणले चुनावपछि मात्रै महाधिवेशन गरौं भनेका हौं ।’  

महामन्त्री गगन थापाले कात्तिक १९ गतेको बैठकमा पुस १६–१९ मा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरेका छन् ।  तर उनको प्रस्तावको काउन्टर दिँदै संस्थापन पक्षका नेताहरूको बलमा सहमहामन्त्री महेन्द्र यादवले २०८३ को वैशाख २७–३० सम्म गर्नेगरी प्रस्ताव पेस गरेका थिए । महामन्त्रीले ल्याएको प्रस्तावमा हस्तक्षेप गर्दै सहमहामन्त्रीबाट महाधिवेशनको तालिका ल्याउने वैधानिक व्यवस्था छैन । उनीहरूले ‘कोमा’मा पुगेको कांग्रेसलाई घाटतिर लैजान खोजिरहेको चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षधर नेताहरूले टिप्पणी गरेका छन् ।  

नेताहरूबीच विशेष महाधिवेशन टार्ने र नियमितकै कार्यतालिका ल्याउने प्रयास भइरहँदा विशेष पक्षधरका नेता मधु आचार्यले ‘नहुने महाधिवेशन’को कार्यतालिका नमान्ने बताए । ‘जनचाहनाअनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक ठानेर ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि बढेका हौं ।  नियमित महाधिवेशन हुनेगरी तालिका आए हामी पछि हट्छौं । नत्र व्यापक हुने मौका छैन ।’ 

ADV

सम्बन्धित खबर