
काठमाडौं : धेरैलाई लाग्न सक्छ, सामान्य महिला वा तल्लो तहका कर्मचारी मात्र लैंगिक हिंसामा पर्छन् । सचेत एवं सार्वजनिक पदमा रहेका महिलाहरूले समेत चरम डिजिटल हिंसा भोग्नुपरेको खुलासा गरेका छन् ।
लैगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ‘म बोल्छु’ कार्यक्रमका केही सहभागीहरूले त्यस्तो अनुसभव सुनाए । प्रविधिबाट हुने लैंगिक हिंसामा मौनताको अन्त्य गर्न त्यस्तो अभियान थालिएको हो । अधिवक्ता खिमा रिजालले श्रीमान गुमाएको २० वर्ष बित्यो । त्यसयता उनले धेरै डिजिटल हिंसा भोग्न परेको बताइन् । ‘श्रीमान् नहुँदा पारिवारिक, सामाजिक हिंसा त छँदै थियो, त्यसमा डरलाग्दोसँग डिजिटल हिंसा पनि भोगेको छु,’ उनले भनिन् ।
त्यस्तो हिंसाका पीडक पनि सामाजिक रूपमा चिनिएकै अनुहार छन् । बाहिर भद्र देखिने पुरुषहरूबाटै डिजिटल हिंसा भोगेको उल्लेख गर्दै रिजाल भन्छिन्, ‘वान नाइट स्टेका प्रस्ताव राख्छन्, अनेक भनेर मानसिक तनाव दिन्छन् ।’ एकल महिलालाई रातमा भिडियो कल गर्ने, नाजायज सम्बन्धको प्रस्ताव गर्ने गरिएको उनले बताइन् । त्यसरी सताइनेमा जीवनसाथी गुमाएका एकल एवं डिभोर्सी महिला धेरै छन् ।
गायक प्रकाश सपुतले पुरुष कलाकारको तुलनामा महिला कलाकार बढी नै डिजिटल हिंसामा परेको बताए । ‘सामाजिक क्षेत्रमा राम्रो योगदान गरेका हुन्छन् तर महिला भएकै कारण चरित्रमा प्रश्न तेर्साएर गालीगलौज गर्छन्,’ उनले भने, ‘जबसम्म आफूले भोग्दैनन्, तबसम्म अरूको बारेमा साइबर बुलिङ गरिहन्छन् ।’
डिजिटल हिंसाबाट बच्न दृष्टि र सोच बदल्न जरुरी रहेको उनी बताउँछन् । ‘मैले गाएको धेरै गीत हिट भएका छन्, त्यसको चर्चा हुँदैन तर मैले एउटा राजनीतिक विचार राखेकै कारण म डिजिटल हिंसामा परें,’ सपुतले आफू हिंसामा परेको कहानी सुनाउँदै भने, ‘सामाजिक सञ्जालले मलाई यति नालायक बनाएको छ कि मभित्रभित्रै आत्मग्लानी हुन्छ । मैले अझै पनि परिवारमा अनुहार देखाउन सक्दिनँ ।’
आफू हिंसामा परेको आवाज उठाउँदा पनि झनै हिंसामा परेको अभियन्ता सुहाना थापा मगरको भोगाइ छ । ‘आफू हिंसामा परेको आवाज उठाउँदा हिंसामा पर्नुपर्छ,’ उनले भनिन्, ‘पहिला सामाजिक रूपमा बहिष्कार गर्ने हुन्थ्यो । अहिले त भएभरको सामाजिक सञ्जालमा राखेर बाँच्नै मुस्किल गराउँछन् ।’
वरिष्ठ पत्रकार बबिता बस्नेतले धेरैजसो महिलाहरू डिजिटल हिंसामा परे पनि गुम्स्याएर राखेको बताइन् । ‘डिजिटल हिंसामा पर्नेको संख्या बढदो क्रममा छ, त्यसलाई घटाउन नकारात्मक विचार निरुत्साहित पार्नुपर्छ,’ उनले भनिन् ।