– नारायण तिवारी
अचानक यस बाटोमा उसलाई देख्दा म झस्किएको थिएँ । उसको घर यतै जडिबुटीतिर छ भन्ने त सुनेको थिएँ तर, यसरी एउटा झोला बोकेर लुखुरलुखुर सडकमा निस्किएला ऊ भन्ने कल्पना मैले गरेको थिइन । ऊ कहाँ हुन्थ्यो र उसले झोला बोकेर हिँड्नु, एकछिनमै मैले उसको हातबाट झोला एकजना केटोको हातमा पुगिसकेको देखेँ । त्यही पनि, र पनि, आजकाल अफिसको गाडीमा सररर हुइँकिने भएको उसलाई कसरी यहाँ भेटौंला भन्ने कल्पना पनि होस् !
फेरि, अलिकति मास्क खुस्काएको रहेछ र पो चिन्न सकियो । देखिरहेको थिएँ, मास्क खाने मुखबाट अलिक तल चिउँडोनेर झरेको थियो ।
म नजिक नै थिएँ, हाँसे । तर, ऊ हाँसेन । ज्या, उसले मलाई देखे पनि मेरो ओठको मुस्कान देखेको भए पो हाँसोस् त ! किनभने मेरो मुखबाट मास्क फुस्किएको थिएन । कहिलेकाहीँ मुखमा मास्क रहिराखे पनि यसो जिउडाल हेरेर पनि मान्छे चिनिन्छ । लुगा हेरेर चिनिन्छ । तर, उसले सायद मलाई चिनेन । एक नजर मतिर फाल्न त फालेको हो उसले तर, फेरि नजर हटायो ।
ऊ कता कति अल्मलिरहेको जस्तो देखिन्थ्यो । उसको साथमा रहेको केटो साथसाथमा हिँडिरहेको थियो । जसको हातमा पहिल्यै मैले उसको हातमा देखेको झोला थियो । ऊ कहिले त्यो केटोलाई तान्थ्यो, कहिले उभिन्थ्यो । मैले उसलाई चिनेपछि र उसले मलाई नचिनेपछि (नचिनेको अभिनय पो गरेको हो कि ?) मैले आफ्नो गति मन्द पारेको थिएँ । ऊ पनि खासै द्रुत गतिमा कहाँ हिँडिरहेको थियो र ! लोसे पारा थियो उसको । म अझै ऊभन्दा लोसे पारामा उसको पछाडि हिँडिरहेको थिएँ ।
उनीहरू, याने त्यो साथको केटा र ऊ गफ गर्दै हिँडिरहेका थिए ।
ऊ केटालाई सोध्दै थियो– “रे, भन् त यो सब्जीमण्डी कहाँ छ ? तँ पहिले आएको थिइस् होइन ?”
“छैन मालिक हेरेको ! पहिले आएको छैन म ।”
“अनि रे, मालिक्नीसित सब्जी किन्न कहाँ जान्थिस् त ?”
“मालिक ! मल्काइन् त घर नजिक नै सब्जी किनिहाल्नु हुन्थ्यो । यता त मैले हेरेको छैन ।”
“ले, आज तँलाई देखाइदिन्छु । अनि सधैँ यहीँ आएर सब्जी किन्नू !”
“हुन्छ मालिक !”
त्यसपछि दुवै चूप लागे । एकछिनपछि फेरि उसले सोध्यो– “तेरो गाउँमा त खूब सब्जी खेती नै हुन्छ, होइन रे ?”
“हो, मालिक ! मेरो बाबुले पनि रमेश महाजनको खेतमा सब्जी लगाको छ । सब्जी बेच्न मेरो बाबु सधैँ विराटनगरको गुद्रीमा लैजान्छ !”
“हे, मुला ! त्यसो भए तँ यहाँ के खान आइस् । त्यहाँ नै सब्जी लगाउन तेरो बाबुलाई सघाउनु पर्दैन ? गधा...!”
त्यसपछि त्यो केटो बोलेन । दुवै मौन, हिँडिरहे ।
म पछिपछि हिँडिरहेँ । सोचिरहेँ, त्यो केटोलाई उसको बाबुले जागिर खुवाउन यहाँ काठमाडौंमा पठाएको होला । वा, बच्चैदेखि उसकहाँ पढाइदिने नाममा पठाएको थियो होला कि ! यसबेला त त्यो केटो पट्ठो देखिन्छ, १७/१८ वर्ष उमेरको होला ।
एउटा कुरामा भने मलाई अचम्म लागिरहेको थियो– पहिले÷पहिले जस्तो तराईतिर गाउँघरमा ‘मालिक’ सम्बोधन गर्ने चलन आजकाल हराइसकेको थियो । तर, उसलाई त्यो केटोले यहाँ, यस जाग्रितिको अगुवा सहर काठमाडौंमा ‘मालिक’ सम्बोधन गर्दै थियो । मैले घृणापूर्वक आफ्नो टाउको झट्किएँ । त्यो केटोको मालिकप्रति अलिअलि रहेको मेरो सद्भाव पनि घृणामा रूपान्तरित भएको थियो ।
हुनतः हामी धेरै भारतमूखी छौं । भारतीय टेलिभिजन धेरै हेर्छौं होला । त्यसै भएर हाम्रा प्रधानमन्त्रीले बोलेको भए पनि हामीले नसुनेका हौँला । यो मेरै कमजोरी हुनसक्छ ।
जडिबुटीको पूल आइपुग्यो । ऊ बीचमा उभिएर कता जाउँजस्तो गरी ट्वाल्ल परिरहेको जस्तो लाग्यो । त्यो केटो अझ के थाहा पाओस् – कता छ जडिबुटीको सब्जीमन्डी ?
“हे रे, नरेनवाँ ! भनिदे त, यो मन्डी कता छ रे ?”
त्यो केटोको नाम ‘नरनवाँ’ वा नरनुवाँ, मै पनि त ‘नरनुवाँ’ हुँ रहेछु भन्दै मन्दमन्द ओठ मुस्कुरायो मेरो । नरेनवाँ याने नारायन वा शुुद्ध उच्चारण गर्ने हो भने उसको नाम नारायण रहेछ । मलाई मेरो आफ्नो नाम पनि नारायण भएको र उसको गाउँमा (मेरो पनि), केटाकेटीमा मै पनि कोहीकोहीबाट यसै ‘नरनुवाँ’ नामबाट संबोधित हुन्थेँ, सम्झेर फेरि हाँसे म ।
त्यो केटोले बोल्नु अगाडि मैले पछाडिबाट कराएँ– “उः त्यहाँ हेर्नुहोस् त देख्नु भएन–‘जडिबुटी तरकारी तथा फलफूल बजार’ लेखिएको त्यत्रो ठूलो बोर्ड ?”
उसले, मैले बोलेको तिर फर्किएर हेरेन । न, मेरो कुरालाई समर्थन वा विरोध नै गर्यो । न, मतिर फर्किएर ‘धन्यवाद’ नै भन्यो । तर, उसको नजरले उभिएर त्यो बोर्डतिर हेरेको मैले पछाडिबाट देखेँ । त्यो केटो पनि त्यतै हेर्दै थियो ।
अब भने मैले उनीहरूलाई जितेर अघि बढेँ । अघि त बढेँ तर, पाइला सुस्तरी चाल्दै । ताकी उनीहरू फेरि अगाडि बढुन् । वा, उनीहरूको वार्ता फेरि सुन्न सकियोस् ।
यसरी कसैको चियो गर्नु उचित थिएन । तर, खै किन किन म उसलाई नजाँनिदो गरी पछ्याइरहेको थिएँ । ऊ मेरो लागि त अपरिचित छँदै थिएन । पहिले पहिले त म पनि उसको निम्ति परिचित नै थिएँ । यो लकडाउन भएपछि ‘अपरिचित’ भएको कुरा होइन । ऊ काठमाडौं बस्न थालेपछि कै कुरा हो ।
दुई वर्ष अघि म उसको कार्यालयमा मेरो छोरीको बिहेको निम्ता पुर्याउन गएको थिएँ । घर यतै, यसै क्षेत्रमा बनाएर बसेको थाहा पाइसके पनि यो काठमाडौंमा घर खोज्नतिर लाग्नुभन्दा अफिसमै निम्ता पुर्याउनु सजिलो ।
“उहाँ व्यस्त हुनुहुन्छ ।” अफिस कोठा बाहिर टेबुल राखेर बसेको मानिसले भनेको थियो ।
“उहाँ मेरो गाउँको मानिस हो, मेरो नाम भनिदिनुस् न । मेरो छोरीको बिहेको कार्ड हो ।” मैले भनेको थिएँ ।
ऊ भित्र पसेको थियो, मैले दिएको कार्ड बोकेर ।
फर्किएर आयो । र, भन्यो– “मैले भने । कार्ड पनि हातमा दिएँ । उहाँले हेर्नु भयो । केही बोल्नु भएन ।”
मैले फेरि, ‘साथी’ शब्द पनि ‘इस्तेमाल’ गरेर भनेको थिएँ– “अरे बाबा ! उहाँ मेरो गाउँको मानिस, साथी हुनुहुन्छ । मेरो नाम भनिदिनु भएन ?”
उसले मलाई तलदेखि माथिसम्म हेर्यो । र, उल्टै झपार्दै मेरै लहजामा भन्यो– “अरे बाबा ! तपाईँको कार्डमा नाम छ नि होइन ? फेरि मैले पनि भनिसकेको छु । तपाईँ जानुहोस् अब । सरले कार्ड लिनु भएको छ । बिहेमा आउनु हुन्छ ।”
म आफू ‘ऊ’बाट, याने मेरो गाउँको मानिसबाट, याने बालखकालको साथीबाट अपरिचित हुँदै घर फिर्ता भएको थिएँ ।
बिहेमा पनि ऊ आएको थिएन । ऊ ठूलो मानिस भइसकेको थियो, धेरै ठूलो ।
जडीबुटीको तरकारी बजार आइपुगेको थियो । म फेरि पछाडि परेको थिएँ । ऊ फेरि अगाडि थियो ।
भीड थियो तरकारी बजारमा । म त यो कोरोना महामारीभन्दा पहिले पनि यस तरकारी बजारमा आइरहन्थेँ । तर, यो लकडाउनको अवस्थामा प्रथम पटक आउँदै थिएँ ।
डेराघरबाट पैदल २०÷२५ मिनटमा आइपुगिन्थ्यो यहाँ । केही सस्तो पनि पर्ने भएकोले बिहानको प्रातः भ्रमणको समय पारेर पहिला म आउने गर्थेँ ।
लकडाउनमा अझ ५ बजे बिहानदेखि ९ बजेसम्म मात्र तरकारी बजार खुल्ने भन्दै छिमेकीहरूले तरकारी ओसारी रहेका देखिन्थे ।
‘अनि भीड हुँदैन ? ६ फिटको सामाजिक दूरीको पालना हुन्छ ?’, मेरा मनमा धेरै प्रश्न थिए । त्यसैकारण म लकडाउनको ४२ औं दिन हारेर, याने सबै हिँडिरहेका थिए ग्वार–ग्वार र, लागेको थिएँ सोच्दै सामाजिक दूरीमा बसेर भएछ भने किन्छु, नभए फर्किन्छु ।
त्यो केटोलाई रूपैयाँ र झोला दिएर (झोला बोकेकै थियो केटोले) उसले सब्जीमन्डीमा हेलाइदिइसकेको थियो । ऊ कम्मरमा हात लगाएर उभिएको थियो । र, घरिघरि हात उठाएर ईसारा गर्दै थियो । यस्तो लाग्थ्यो, भन्दैहोस्– ‘उः त्यो काउली किन् । उः त्यो कटहर किन् । तराईको मान्छे, कटहर मनपर्छ नि तँलाई होइन, किन् है किन् । भाण्टा किन् । लौका रे, त्यो पनि किन....!’
ऊ केटोको साथमा नगएको कारण पनि म बुझिरहेको थिएँ । त्यहाँ ६ फिट त के आधा फिटको दूरी पनि कायम भइरहेको थिएन ।
मलाई हिम्मत आएन । सामाजिक दूरी कायम गर्ने कुरा कसको लागि, आफ्नै लागि होइन ? तर, अहँ, मानिसहरू माछा बजारमा जस्तै होहल्ला गरिरहेका थिए । कसैका मुखमा मास्क पनि देखिँदैनथ्यो ।
कोहीकोही त ससाना व्यापारीहरू पनि थिए । सब्जी किन्न आएका । जो होलसेल मूल्यमा किनेर लगी खुद्रा मूल्यमा बेच्दथे । जसलाई लागिरहेको हुनसक्थ्यो– बाँचे पनि के, मरे पनि के ?
त्यस भीडमा बेच्ने पनि धेरै ठूला व्यापारी होइनन् । साना काँटीका साना व्यापारी थिए । जसलाई सामाजिक दूरी कायम राख्नुसित उति सरोकार थिएन । जसलाई लागिरहेको हुनसक्थ्यो– बाँचे पनि के, मरे पनि के...?
त्यहाँ साँच्चै यो प्रकोपबाट प्रताडित भूइँ मान्छेहरू अझै थिएनन् । यो महामारीमा उनीहरू घरपरिवार, आमाबाबु, छोराछोरी संझिँदै सयौं किलोमिटर हिंडेर काठमाडौंबाट अलप भइसकेका थिए ।
स–सानो पत्रिका पसल चलाएर काठमाडौंमा बसेको मजस्तो मानिस थोरैमा कसरी गुजारा चलाउन सकिन्छ भन्ने अभ्यास गर्दै भोलिको संकट रहित दिन फर्किने आशामा यतै काठमाडौंमा नै भट्किरहेको थिएँ ।
धेरै बेर टोलाएर म पनि सब्जीमन्डी अगाडि उभिइरहें । तर, पछाडि हात बाँधेर उभिइनँ ।
देखिन्थ्यो– त्यो केटो घरि लौका उचालेर देखाइरहेको थियो, घरि काउली ।
यताबाट ऊ हात उचालेर के के ईसारा गथ्र्यो ।
बजार केही पातलिन्छ कि भनी म धेरैबेर उभिइरहेँ । तर, अहँ बजारको भीड झन् झन् ‘पारवान’ चढ्दै थियो । मैले हिँड्ने मन बनाएँ । धेरै बेर उभिइएको थिएँ । ऊ मभन्दा ६ होइन, १२ फिट पर थियो । हामी बजारभन्दा बाहिर थियौं । तर, भित्र देखिने गरी उभिइएका थियौं ।
त्यो केटो, अर्थात् नरनुवाँ बाहिर आयो ।
“अलि टाढा, अलि टाढा । मलाई नछो है !” उसको मालिक नरनुवाँलाई भन्दै थियो ।
“घर पुगेर नुहाउनु पर्छ तैँले । लुगा पनि अर्को फेर्नु, बुझिस् !”
यतिबेलै मैले मेरो मुखबाट मास्क हटाइदिएँ । र, उसको आँखामा आँखा गाडेर हेरें ।
‘ए हे, नारायण तिमी ? म त नचिनिरहेको...!’ उसको मुखमा यस्तो भाव आएको देखिएन । बरु, कुनै काम बिगारेपछि देखिने कलुषित अनुहार जस्तै कालोनिलो भयो उसको अनुहार ।
उसको आँखामा आँखा गाडेरै भने– “के छ ठूला मानिसको हालखबर ? कोरोनाले त ठूलो सानो भेद गर्दैन नि । म त पत्रिका बेच्ने मान्छे हुँ । सधैँ पढ्छु खबर । बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना लागेको छ, थाहा होला नि...!”
ऊ बोलिरहेको थिएन । ऊ अर्थात् रामशेखर, गाउँमा स्कुलदेखि विराटनगरमा कलेजसम्म नै सँगसँगै पढेको साथी थियो मेरो । आफ्नो योग्यताले होइन राजनीतिको फेर समातेर ऊ हाकिम बनेको थियो । म धेरै पटक मुखिया, खरिदार तहमा जागिर खाँदै छोड्दै पछिल्लो समयमा राजधानी पसेर डेरामा बस्दै पत्रिका पसल चलाएर गुजारा गरिरहेको साधारण मानिस थिएँ ।
उसले काठमाडौंमा घरघडेरी जोडिसकेको थियो । मैले धौ धौ गरेर जसोतसो गरी केटाकेटी हुर्काएको थिएँ, हुर्काइरहेको थिएँ ।
मैले तरकारी नकिनेरै फर्किने मुड बनाइसकेकै थिएँ, भारी बोकेर हिँड्न लागेको नरनुवाँलाई सम्बोधन गर्दै फेरि बोलें– “हे बौवा, तोहर मालिक हम्रा चिन्है छै कि नहीँ ? ओक्रा पुछी ह ! हम्रो नाम छै नरनुवाँ, तोरे नाम जका । हम्रा चिन्है छि....?”
नरनुवाँ वाल्ल परेर मेरो मुखमा हेर्दै थियो । त्यसपछि मैले फेरि मास्क माथि उचालें, मुख ढाक्ने गरी । कसले के जवाफ दिन्छ वास्ता गरिनँ । र, कतै नहेरी फटाफट अघि बढें...!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies