२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

एचआइभी संक्रमितको संख्या घट्दो, आयु बढ्दो

shivam cement
सपना बोहरा
२०८२ मंसिर १६ गते ०६:१५
Shares
एचआइभी संक्रमितको संख्या घट्दो, आयु बढ्दो

काठमाडौं : केही वर्षअघिसम्म डरलाग्दोसँग फैलिरहेको एचआइभी संक्रमण घट्दै गएको पाइएको छ । प्राणघातक रोग मानिने एचआइभी/एड्स लागेको व्यक्तिहरूको आयु पनि बढेको छ । खासगरी रोग प्रतिरोधात्मक औषधिको विकासले संक्रमितको आयु बढाएको चिकित्सक बताउँछन् । 

नेपालमा एचआइभी संक्रमितहरूको संख्या बर्सेनि घट्दै गएको एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । बितेका तीन वर्षमा संक्रमितको संख्या निरन्तर घटेको हो । आर्थिक वर्ष २०७९/२०८० मा २ हजार ८ सय संक्रमित भेटिएकोमा २०८०/८१ मा ३ सय घटेको थियो । त्यो वर्ष २ हजार ५ सय नयाँ संक्रमित पुष्टि भएका थिए । गत आर्थिक वर्षमा त्यो संख्या पनि घटेको छ । केन्द्रका अनुसार अघिल्लो वर्ष २०८१/८२ मा २ हजार २ सय ७२ जना नयाँ एचआइभी संक्रमित भेटिएका हुन् । 

एचआइभीसम्बन्धी सचेतना फैलिएकै कारण संक्रमितको संख्या घट्दै गएको केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत लोकराज पाण्डेले बताए । ‘देशभरमा नै एचआइभीसम्बन्धी सचेतना कार्यक्रम भइरहेका छन् । त्यसैको नतिजा संक्रमितको संख्या घट्दै गएको छ,’ उनले भने । 

नेपालमा हाल ३४ हजार ३ सय ३७ जना एचआइभी संक्रमित रहेको केन्द्रले जनाएको छ । संक्रमितमध्ये लागूऔषधका दुव्र्यसनी, यौनकर्मी तथा तिनका ग्राहक, समलिंगी पुरुष तथा ट्रान्सजेन्डर, वैदेशिक रोजगारीमा जाने पुरुष तथा उनका पत्नी धेरै छन् । गत वर्ष ५ सय ६९ जनाको संक्रमितको मृत्यु भयो । एचआइभी/एड्सबाट दैनिक मृत्यु अनुपात १ दशमलव ७ रहेको छ । एचआइभी संक्रमितमध्ये ७७ प्रतिशतको पहिचान भएको छ भने ८७ प्रतिशतको उपचार र ७१ प्रतिशतको शरीरमा भाइरसको भार न्यून पाइएको केन्द्रले जनाएको छ । 

केन्द्रका निर्देशक डा. सर्वेश शर्माले औषधि विज्ञानको विकासले एचआइभी संक्रमित पनि साधारण मानिसजस्तै आयु बाँच्न सक्ने बताउँछन् । ‘कसैको आयुको यकिन भन्न कसैले सक्दैन,’ उनले मध्यान्हसँग भने, ‘जटिल केसबाहेक नियमित औषधी सेवन गर्ने संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य नै हुन्छ ।’ एचआइभी संक्रमित बिरामीहरूको आयु छोटो हुने, ५/१० वर्ष मात्रै बाँच्छन् भन्ने भ्रमले समाजलाई ग्रसित पारेको उनी बताउँछन् । ‘ह्युमन इमुनो डिफिसेन्सी भाइरस अर्थात् एचआइभी एक यस्तो भाइरस हो, जसले शरीरमा प्रवेश गरेपछि बिस्तारै प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ र प्रतिरोधात्मक क्षमता घटाउँदै लैजान्छ,’ उनले भने, ‘यदि सही समयमा उपचार गरिएन भने यो एड्स (एक्वायर इम्युनोडेफिसियन्सी सिन्ड्रोम)मा परिणत हुन्छ र यसको निर्मूल नै पार्ने कुनै प्रभावकारी उपचार छैन ।’

एकपटक एचआइभी संक्रमित भएपछि उसले जीवनभर यससँगै बाँच्नुपर्ने हुँदा नियमित औषधीको सेवन गर्न उनको सुझाव छ । नियमित औषधी सेवनकै कारण संक्रमितहरूको आयु बढ्दै गएको उल्लेख गर्दै डा. शर्मा एचआइभीको लक्षण पहिचान हुनासाथ डाक्टरको परामर्श लिएर उपचारमा लाग्नुपर्ने बताउँछन् । 

देशभरका कारागारमा ५० जना एचआइभी संक्रमित व्यक्ति छन् । कारागार चलान हुनुपुर्व नै आरोपी व्यक्ति एचआइभी संक्रमित भएको एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका वरिष्ठ अधिकृत लोकराज पाण्डेले बताएका छन् । ‘कारागारमा नै एचआइभी संक्रमण फैलिएको होइन,’ वरिष्ठ अधिकृत पाण्डेले भने, ‘कारागार चलान हुनुपुर्व नै संक्रमित भएका हुन् । उनीहरूले एआरटी औषधि खाइरहेका छन् ।’

सरकारले ६४ जिल्लामा ९६ वटा एआरटी केन्द्र स्थापना गरेको छ । त्यस्तै, गर्भवतीका लागि निःशुल्क परीक्षण अनि संक्रमित आमाबाट शिशुमा संक्रमण रोक्ने सेवा प्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोमबार नेपालसहित विश्वभरि नै ३८औं विश्व एड्स दिवस ‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नाराका साथ मनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर