
काठमाडौंः वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ बस्ने झापा दमक नगरपालिका–३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका–९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।
पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौं महानगरपालिका–२६ बाट र ईश्वरलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।