
रौतहट : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले रौतहटको ईशनाथ नगरपालिकाबाट खोटा मुद्रासहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नेपाली १ हजार दरका १ सय १८ थान जाली नोट बरामद गरिएको छ, जसको कुल मूल्य १ लाख १८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो करिब सीमा क्षेत्रमा गस्ती भइरहेको बेला भारततर्फबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न लाग्दा सवार व्यक्तिहरू भाग्न खोजेका थिए । भाग्ने क्रममा उनीहरूले जाली नोट फालेका थिए ।
प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिइ नोट र मोटरसाइकलसहित बरामद गरेको छ । पक्राउ पर्नेमा रौतहटका अजय पटेल (२० वर्ष), गेनालाल पटेल (२१ वर्ष) र भारत बिहारका जयप्रकाश कुमार (३२ वर्ष) रहेका छन् । प्रहरीले बरामद सामग्री र पक्राउ परेकालाई नियन्त्रणमा लिइ मुद्रासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।