
कविता
– गीता त्रिपाठी
जन्मेपछि जन्म घरमै दौडिएकी उनी
बालापनका साथीसँगै मित्रता गाँस्छिन्
न यो मित्रतामा रमाइरहन पाउँछिन्
एक दिन त्यो चुलबुल मन पराई घरमा
कुलघरकी बुहारी बन्न पुग्छिन् ।
कहिले हाँसो तालमा हिँडिन्
कहिले पराई घरको गाल सहिन्
तर पनि मन अविरल बुझाउँछिन्
सधैँ सबैको मन बुझाउने आशाको खोजीमा हुन्छिन्
किनकि उनी त कुल घरकी बुहारी ।
कहिले कर्म घरको जिम्मेवारी पखँेटा हालेर बोक्छिन्
कहिले पीडा दबाएर फुल झैँ सुगन्ध छर्छिन्
आफ्ना सबै रहर मारेर कर्म घरमा खुसी भर्छिन्
त्यही घर नै आफ्नो मान्दै दियोको ज्योति बालिरहन्छिन्
किनकि उनी त कुल घरकी बुहारी ।
घामपानी र झरी सहेर घरलाई स्वर्ग बनाउन तत्पर हुन्छिन्
कहिले उनी आफैँ महासागरमा डुब्छिन्
तर पनि अदम्य साहस लिएर पुनः उठ्छिन्
विडम्बना उनको यो साहसलाई बुझिदिने कोही छैन
किनकि उनी त कुल घरकी बुहारी ।
न त बाल्यकालको साथीले बुझेको छ, न त माइती पक्षले
किनकि उनी त बुहारी हुन् घरको कुरा माइतीमा लानु हुन्न
बुहारी त पहाडसँग नि ठोकिनु पर्छ
दुखै दुखको छालसँग नि मुस्कुराई रहनुपर्छ
किनकि उनी त कुल घरकी बुहारी ।
आँखाको नानी तब हुन्छिन् उनी
सबै–सबैको हुन्छिन् भाग्यमानी
क्षितिज पारी पुगी रम्नुपर्छ अर्काको खुसीमै जुनी–जुनी
सहनु पर्छ उनीले हाँसो रोदन सबै–सबै
किनकि उनी त कुल घरकी बुहारी ।