२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

नीतिगत बहस र नेतृत्वको प्रतिष्पर्धा रोकिदैन

shivam cement
जीवन शर्मा
२०८२ मंसिर २१ गते ०८:०१
Shares
नीतिगत बहस र नेतृत्वको प्रतिष्पर्धा रोकिदैन

नेकपा एमालेको ११औं महाधिवेशनको तीव्र तयारी भइरहँदा नेताबीच आगामी नीति र नेतृत्वका सन्दर्भमा मत विभाजित छ । २०८२ मंसिर २७–२९ मा भक्तपुरको सल्लाघारीमा उद्घाटनका लागि सबैखालको तयारी भइरहेको छ । वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र उनका समर्थकहरूले गत भदौ २२ मै पार्टीको विधान महाधिवेशनबाट नीतिगत विषय टुुंगो लगाइसकेकाले यो महाधिवेशन केवल नेतृत्व चयनको मात्रै हुने दाबी गर्दै आएका छन् । तर ओलीको काउन्टरमा आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तयार भएका छन् । पोखरेल पक्षधर नेताहरूले जेनजी आन्दोलनपछिको बदलिँदो परिवेशअनुसार विधान महाधिवेशनले पारित गरेका कतिपय विषय २४ भदौको आन्दोलनसँगै तुुहिएको भन्दै ११औं राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस र नयाँ नेतृत्व स्थापित गर्ने प्रयासमा छन् । प्रतिस्पर्धालाई अलवम्बन गरेर जाने उनीहरूको अडान कायमै छ । यसै सन्दर्भमा रहेर मध्यान्हका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापासँग जीवन शर्माले गरेको कुराकानीको सम्पादित अंश :    

११औं महाधिवेशनको पूर्वसन्ध्यामा हुनुहुन्छ के कस्तो छ तयारी ? 

महाधिवेशनको तयारी लगभग अन्तिम भइसकेको छ । प्रतिनिधिहरू छनोट भइसकेका छन् । केही केही ठाउँमा अलिअलि विवाद छ । ती सबै समस्या सजिलै गरी समाधान गर्ने तहकै होला भन्ने लाग्छ । अब हाम्रो उद्घाटन कार्यक्रम एकदमै भव्य बनाउने योजना छ । लाखौं मान्छे हामीले उतार्ने भन्ने योजना छ । महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धाको महाधिवेशन बनाउनेगरी तयारी भइरहेका छन् । निष्पक्ष र स्वतन्त्र ढंगले महाधिवेशन प्रतिनिधिलाई हामीले सार्वभौम बनाएका छौं । 

महाधिवेशन नेतृत्व चयनको मात्रै हो, नीतिगत विषयमा छलफल हुुँदैन भन्ने छ । के त्यस्तै हो ? 

बहस छलफल गर्ने कि नगर्ने भन्ने कुनै रहरको विषय कसैले गर्ने भन्ने कसैले नगर्ने भन्ने होइन । विधान महाधिवेशनमा अगाडि सारिएका विश्लेषण अथवा निकालिएका निष्कर्ष भन्ने हो भने त दुई दिन पनि टिकेन नि त । २४ गते अर्को परिस्थिति बन्यो । परिस्थितिमा फेरबदल भएपछि बहस माग गर्ने हो । हामीले भदौको २२ गते विधान महाधिवेशन गरेको थियौं ।
सामान्यत अरू कुनै किसिमका घटना नभएको अवस्थामा नीतिगत काम धेरैजसो हामीले त्यहाँ सम्पन्न गरेका थियांै । भलै हाम्रो महाधिवेशनको विगतको अभ्यास के छ भने विधानलगायतका विभिन्न विषयवस्तु विधान महाधिवेशनले तय गरिसकेपछि पनि १०औंं राष्ट्रिय महाधिवेशनमा कतिपय वैधानिक व्यवस्था पनि परिवर्तन भएका थिए । भदौको २३ र २४ गतेपछिको परिस्थिति आनकातान फरक प¥यो । मान्छेको मनस्थितिमा सोचमा परिवर्तन भएको छ । अनि राजनीतिक दलहरूको शक्ति सन्तुलनको स्थितिमा फरक परेको छ । हिजोका राजनीतिक दल जो स्थापित दलहरू हुन्, ती दलहरूको पोजिसन के हुुने नि भन्नेबारेमा कसैले पनि भन्न सक्दैन । अनुमानका आधारमा मात्रै त चल्दैन नि । त्यसकारणले त्यो परिस्थिति उत्पन्न हुनुको कारण के हो ? त्यसमा दोष बढी कसको हो ? आन्तरिक कारण प्रधान हो कि, बाह्य कारण प्रधान हो कि, षड्यन्त्र जालझेल हो कि ? यो के हो त ? त्यसबारेमा पनि गहन बहस हुनुप¥यो, छलफल हुनुप¥यो । महाधिवेशन भनेको त हाम्रो फाइनल फोरम हो । यसले त पाँच वर्षका निम्ति विश्लेषण नीतिहरू कार्ययोजना अगाडि बढाउँछ । भनेपछि एउटा केन्द्रीय कमिटीले गरेको सामान्य प्रकारको छलफलले मात्रै सबै कुराको निरुपण हुँदैन । त्यसपछिको परिस्थिति के हो ? अब अगाडि कसरी गरेर बढ्ने ? यो लोकतन्त्रमाथि नै प्रश्न उठेको स्थिति छ । 

निकै लामो संघर्षबाट स्थापित भएको लोकतान्त्रिक गणतन्त्र खचमचिएको अवस्थामा छ । संविधान माथि हमला भएको छ । गैरसंविधानिक सरकारले काम गरिरहेको छ । जनप्रतिनिधिमूलक संस्थालाई विघटन गरेर अनि अनिर्वाचित सरकार बनेको छ । अनि त्यो पनि फेरि यत्रो सिंगै देशको प्रतिनिधित्व त्यहाँ भएको स्थिति छैन । सम्पूर्ण शक्तिहरू छैनन्, राजनीतिक दल छैनन् । 

यस परिस्थितिलाई कसरी हामीले एक ठाउँमा लिएर आउँछौं त ? भन्नका निम्ति पनि बहस छलफल नगरीकन हुन्छ ? बहस के रहरले गर्ने हो र ? । त्यसकारणले समयको आवश्यकताले बहसको माग गर्ने हो । समय र परिस्थितिअनुसार महाधिवेशनमा गम्भीर छलफल र बहसको आवश्यकता छ । 

पार्टी नेतृत्वसहित अधिकांश नेता लामो बहस गरेर समय खर्चने पक्षमा देखिँदैनन् । त्यस्तो हुँदा तपाईंहरूको के नै लाग्छ र ?

गम्भीर बहस र  सही निष्कर्ष निकालेर मात्रै नेकपा एमालेको आगामी यात्रा अगाडि बढ्छ । होइन भने त अलमलको अवस्थामा रहेर जनतालाई अलमलमा राखेर नेकपा एमालेको समर्थन बढ्छ ? जनतालाई हामीले एउटा दिशा दिनुप¥यो । आशा र विश्वास जगाउनुप¥यो नि । अहिलेको मनस्थिति भनेको त के छ भने दलीय व्यवस्थाको विपक्षमा छैन । लोकतन्त्रविरुद्ध नेपाली जनता छैनन् । गणतन्त्रविरुद्ध पनि छैनन् । जसले लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति संघर्ष गरे ती दल अहिले पनि सचिएको स्थिति छैन । नेतृत्व अहिले पनि सचिएको स्थिति छैन । जनताको मागअनुुसार सबै ठाउँमा हाम्रो सोच, हाम्रो व्यवहार, हाम्रो कार्यशैली र हाम्रा नीतिमा संगठनमा पुनर्गठन भएको छैन ।  

प्रतिनिधिलाई सार्वभौम बनाएका छौं भन्नुुभयो । तर महाधिवेशन कब्जा भएर आएको भन्ने उजुरीहरू परेका छन् । यसपटक दुुई समूहबीचको शक्ति संघर्ष त राम्रै चल्ने देखियो नि होइन ? 

हाम्रो विधानले जनताको बहुदलीय जनवादको मूल मान्यतालाई स्थापित गरेको छ । महाधिवेशन भनेको कार्यकर्ताको अनि महाधिवेशनबाट निर्वाचित भइसकेपछि मात्रै पार्टी नेताको हुन्छ । त्यसैले महाधिवेशनमा कार्यकर्ता प्रभावी हुन्छन् । जनताको बहुदलीय जनवादले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर उचित र सही निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छन् । अहिले कसैले कब्जा गर्दैमा प्रतिनिधि उसैका हुन्छन् भन्ने छैन । उहाँहरूले एमाले कस्तो नेतृत्व छान्ने भन्ने विवेकपूर्ण निर्णय गर्नुहुन्छ । अर्को कुरा पार्टीमा हुने राजनीतिक प्रतिस्पर्धालाई संघर्ष वा लडाइँका रूपमा हेरिनुु हुन्न । आन्तरिक प्रतिस्पर्धामा यसपटक एकदमै कम्पिटिसन हुन्छ । कस्तो कम्पिटिसन भने त्यो सामान्य प्रकारको होइन । प्रभोग गर्न म जे पनि भन्न सक्छु । तर म त्यस्तो प्रभोग गर्दिनँ । यसपटकको महाधिवेशनमा सबै पदमा नेट टु नेट प्रतिस्पर्धा हुन्छ । कसैको पनि पद सुरक्षित छैन । न अध्यक्ष फलाना हुनुहुन्छ भन्ने छ न महासचिव फलाना हुनुहुन्छ भन्ने । कोको उठ्नुहुन्छ त्यो पनि अझै ठेगान भएको छैन । उम्मेदवार पनि अन्तिम घडीमा थाहा हुने वाला छ । त्यसपछि एकदमै स्वस्थ प्रतिस्पर्धा हुन्छ । सबै पदमा भिडन्त तगडा हुन्छ । प्रतिस्पर्धाको मान्यतालाई स्वीकार गर्छौं । सिद्धान्त त त्यो कुरा सही छ ।

यो महाधिवेशनबाट मूल नेतृत्व हस्तान्तरण होला कि पुरानैले निरन्तरता पाउँछन् ?

महाधिवेशनको मूल मुद्दा नै नेतृत्व परिवर्तन हो । कहिले कहिले मात्रै पुरानो नेतृत्वको निरन्तरता हुन्छ । होइन भने नेतृत्व त परिवर्तन अधिकांश समय महाधिवेशनबाट हुन्छ । हाम्रो त झनै आवश्यकता छ । उहाँले दुई÷दुई कार्यकाल सम्पन्न गरिसक्नुभयो । ७० वर्षको उमेरहद पार गरिसक्नुभयो । हामीले त त्यो मान्यतालाई हिजै स्थापित गरिसक्या हो नि । २०–२५ वर्षका युवा राजनीतिमा आएर यो देशलाई हामी हाक्छांै भनिरहेका छन् । उनीहरूमा मेचुरिटी कति छ, उनीहरूमा सैद्धान्तिक वैचारिक स्पष्टता कति छ, अध्ययन कति छ बेग्लै कुरा हो । तर नवयुवाहरूले देश चलाउँछु भनिराख्या छन् । अनि हामी चाहिँ मरुन्जेल सम्म छोड्दैनांै । बाँचुन्जेलसम्म हाम्रो पदमा कसैले पनि आँखा नलगाउनु है । यो मेरै हो भनेर भनियो भने त्यो समयको गतिलाई रोक्ने प्रकारको जस्तो कुरा हो । आम जनताले आमनेकपा एमालेको पंक्तिले त्यो खोजेको छ । तपाईंको ज्याकेट लगाइरहभएको छ त्यो फाटेको छैन । तर तपाईंलाई जुन ऊर्जा हौसला नयाँ कपडा फेर्नमा हुुन्छ पुरानामा हुुँदैन । मेरो फाटेको ज्याकेट नै लगाउँछु भन्दाखेरि के हुन्छ ? त्यसकारण यो महाधिवेशनमा परिष्कृत नीति र परिवर्तित नेतृत्व आम महाधिवेशन प्रतिनिधिले खोज्नुुहुनेछ । हामी त्यसैमा लागेका छौैं ।

सहमतिमा नेतृत्व चयन गर्ने नाममा अध्यक्ष केपी शर्मा ओली र उनको समूहबाट प्रतिस्पर्धा नै हुन नदिने प्रयास भइरहेको सुुनिन्छ । त्यसमा तपाईंहरूको भूमिका कस्तो रहन्छ ? 

जहाँसम्म सर्वसम्मतका लागि प्रयास गर्नु चाहिँ नराम्रो होइन, त्यो राम्रै हो । किन सर्वसम्मतलाई अस्वीकार गर्ने ? तर हाम्रो अध्यक्षमाथि किन त्यसो आरोप लगाउनुहुन्छ ? सबै मिडियादेखि सिंगै जनजनले एमालेको अध्यक्षमाथि मात्रै किन यस्तो यो हमला भइरा’ख्या छ ? हामी त्यसको पक्षमा छैनौं । उहाँ नै पार्टीको आन्तरिक जीवनको लोकतान्त्रीकरण र प्रतिस्पर्धाको प्रणाली उहाँले स्थापित गरेको हो । तर मैले तपाईंलाई भन्नुपर्छ कि यसपटकका लागि भन्ने हो भने प्रतिस्पर्धाको परिस्थिति निर्माणका निम्ति महत्वपूर्ण भूमिका खेल्ने मान्छे म हुँ । मैले प्रयास नगरेको हो भने यति कुरा चाहिँ मान्नु यो परिस्थिति बन्दैनथ्यो । 

नेकपा एमालेको जनताको बहुदलीय जनवादले भनेको मूल मान्यता भनेको महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । किनभने एकभन्दा धेरै मान्छेको चाहना हुन्छ भने त्यसलाई तपाईं के गरी म्यानेज गर्नुहुन्छ ? तपाईं चुप लाग्नुस् भन्ने अधिकार कसैलाई छ ? तपाईं प्रतिस्पर्धा गर्न पाउनुहुन्न त कसैले पनि भन्न पाउँदैन । यो त शाश्वत कुरा हो नि । हामीले स्वीकार गरेको र हामीले स्थापित गरेको यो मूल्यलाई मान्यतालाई नेकपा एमालेले लामो समय संघर्ष गरेर स्थापित गरेको हा ।  यो लुकाएर लुक्ने चिज होइन नि । 
तर अध्यक्षको भूमिका सबैलाई समेटेर लिएर जाऊ, सम्मानजनक सबैको उपस्थिति गरौं । भनेर न्यायोचित ढंगको उहाँले प्रस्ताव ल्याउनुभयो भने प्रस्तावमा छलफल हुन्छ । राम्रो प्रस्ताव भयो भने पार्टी पंक्तिले स्वीकार गर्छ  । तर मैले भने जस्तो मात्रै गर्छु । त्यो कुरा मान्यो भने चाहिँ त्यही हो सहमति भनेर कसैले भन्छ भने त्यो चाहिँ सहमतिको सूत्र होइन ।  

ताजा खबर

सम्बन्धित खबर