२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

पदम मेघालयबाट फर्किएपछि यसरी खुल्यो अंशु हत्याको रहस्य

shivam cement
२०८२ मंसिर २१ गते १५:५५
Shares
पदम मेघालयबाट फर्किएपछि यसरी खुल्यो अंशु हत्याको रहस्य

काठमाडौं : मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको हत्या उनका छिमेकीबाट भएको खुलेको छ । बालिकालाई बलात्कारपछि हत्या गरिएको सो घटना प्रहरीको गहिरो अनुसन्धानपछि दुई महिनापछि सुल्झिएको हो । 

५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीले बालिकालाई जबरजस्तीपछि हत्या गरेको निष्कर्षमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी मोरङको संयुक्त टोली पुगेको हो । उनलाई पक्राउ गरी सार्वजनिकसमेत गरिएको छ । 

असोज २१ गते अंशु नजिकैको स्कुल परिसरमा छिमेकी साथी युरिका महतरासँग खेलिरहेकी थिइन् । दिउँसोको करिब ३ बजे त्यहाँ पुगेका पदमबहादुरले युरिकालाई पाँच रुपैयाँ दिएर घर पठाए । त्यसपछि पदमले अंशुलाई घाँस काट्न सघाउन आग्रह गरे । उनले आनाकानी गरिन् । पैसा दिने लोभ देखाए । पदमले अंशुलाई जंगलको छेउमा बोलाएका थिए ।

करिब ४ बजे हँसिया र डोरी लिएर साइकलमा पुगेका पदमले अंशुलाई जंगलभित्र लगे । प्रहरीका अनुसार, सुनसान ठाउँमा घाँस काट्ने बेला पदमले अंशुमाथि जर्बजस्तीको प्रयास गरे । उनले प्रतिकारको कोशिस पनि गरिन् तर सकिनन् । बालिकालाई जर्बजस्ती करणी गरेपछि हातले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । मृत्यु भए–नभएको यकिन गर्न हँसियाले बालिकाको घाँटीमा प्रहार गरेकोसमेत पदमले प्रहरीसँग स्वीकारेका छन् । हत्या गरी अंशुको शव त्यहीँ छाडेर पदम सामान्यजस्तै घाँस बोकेर घर फर्किएको प्रहरीले खुलाएको छ ।

यसरी खुल्यो रहस्य

अंशु घर नआएपछि रातिदेखि परिवार र स्थानीय खोजतलासमा जुटे । पदमबहादुर आफैं पनि बालिकाको खोजीमा हिँडे । परिवारलाई सान्त्वना दिने र खोज्ने हिडेकाले उनलाई कसैले शंका गरेनन् । झण्डै तीन सातापछि ७ कात्तिकमा घाँस काट्न गएका व्यक्तिहरुले बेलबारी–चिसाङ साझेदारी वनमा अंशुको शव क्षतविक्षत अवस्थामा देखे । उनको शव र कपडा छुट्टाछुट्टै स्थान भेटिए । त्यसले प्रहरी अनुसन्धानलाई नयाँ मोड दियो । मोबाइल नबोक्ने, प्रत्येक्षदर्शी नभएको र छिमेकी भएका कारण प्रारम्भिक सोधपुछमा पदम शंकाको घेराबाहिरै थिए । प्रहरीले करिब तीन सय व्यक्तिसँग बयान, १६ जनाको पोलीग्राफ परीक्षण, जंगल आवतजावत गर्नेहरूको निगरानी, मोबाइल नेटवर्कको विश्लेषण तथा लेटाङ क्षेत्रमा सामाजिक प्रोफाइल गर्दासमेत अनुसन्धानको क्लू पत्ता लगाउन सकिरहेको थिएन् । न त परिवारले नै कसैलाई शंका गर्न सके ।

१९ कात्तिकमा पदम एकाएक घर छाडेर भारततिर लागेपछि मात्र अनुसन्धानले सूई उनीतर्फ मोडियो । उनका छोरा जबरजस्ती करणी मुद्दामा सजाय पूरा गरी १८ कात्तिकमा फर्किएका थिए । त्यसपछि पदमले छोरालाई मात्र जानकारी दिएर परिवारलाई नबताई भारत हिँडे । मेघालयमा गाई फार्ममा काम गर्न गएको भनिए पनि बिना जानकारी घर छाडेकाले प्रहरीको शंका बलियो बन्दैगयो । प्रहरीले उनलाई आफन्तमार्फत बोलायो । उनी नआएपछि प्रहरी नै मेघालय जाने तयारीमा थियो । तर,  पदम मंसिर १८ गते घर फर्किए । भोलिपल्ट पक्राउ गरेर सोधपुछ गर्दासमेत उनले अभियोग स्वीकारेका थिएनन् । तर, गहिरो अनुसन्धानपछि प्रहरीले प्रमाणसहित केरकार गरेपछि भने अन्ततः पदमले अपराध स्वीकारे । साबिती बयानका क्रममा उनले घटनापछि आफूलाई पछुतो लागेकोसमेत बताएका थिए । उनीमाथि बालिकामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर