२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

एम्बुलेन्समार्फत गाँजा तस्करी, चालक पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर २१ गते २०:४६
Shares
एम्बुलेन्समार्फत गाँजा तस्करी, चालक पक्राउ

रौतहट : बिरामी ओसारपसारका लागि प्रयोग हुने एम्बुलेन्सलाई लागुऔषध तस्करीका माध्यम बनाइएको आरोपमा एक चालक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीले नेपाल रेडक्रस सोसाइटी सर्लाही जिल्लाको नाममा दर्ता भएको एम्बुलेन्सबाट ठुलो परिमाणमा गाँजा बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हिरालाल टोलमा नियमित सुरक्षा जाँचका क्रममा ज.१ च.१५५८ नम्बरको उक्त एम्बुलेन्स रोकी जाँच गर्दा बिरामी राख्ने कक्ष (क्याबिन) भित्र बोरामा लुकाइएको अवस्थामा ५१ किलो ५०० ग्राम गाँजा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रहेका छन् । उनी घटनास्थलमै पक्राउ परेका र हाल आवश्यक कानुनी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उपरीक्षक खड्काले एम्बुलेन्स जस्तो अत्यावश्यक सेवाको दुरुपयोग गरी लागुऔषध ओसारपसार गर्नु गम्भीर आपराधिक कृत्य भएको उल्लेख गरेका छन् ।

हालैका वर्षमा रौतहट–सर्लाही सीमाक्षेत्र लागुऔषध तस्करीको मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ । विशेषगरी भारततर्फ गाँजा ओसारिने गरेको र धेरैजसो खेपहरू सफलतापूर्वक सीमा कटाउने प्रयास गर्ने गरिएको बताइएको छ ।

सुरक्षा स्रोतका अनुसार सीमा क्षेत्रमा हुने तस्करीका गतिविधिलाई रोक्न प्रहरी सक्रिय भइरहे पनि करिब ९० प्रतिशत खेपहरू तस्करको गन्तव्यसम्म पुग्ने र केवल १० प्रतिशत मात्र नियन्त्रणमा पर्ने तथ्यांक देखिन्छ । एम्बुलेन्सजस्तो सेवामूलक साधन प्रयोग गरी गरिएको यो तस्करीले सीमा सुरक्षा व्यवस्थामाथि पनि प्रश्नचिह्न खडा गरेको छ ।

पक्राउ गरिएका चालक यादवमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर