२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

क्यान्सर सर्भाइभरसिप र प्रशामक सेवासम्बन्धी बैठक सम्पन्न

shivam cement
२०८२ मंसिर २३ गते १५:२३
Shares
क्यान्सर सर्भाइभरसिप र प्रशामक सेवासम्बन्धी बैठक सम्पन्न

काठमाडौं : बाल क्यान्सर सर्भाइभरसिप र पेडियाट्रिक प्यालेटिभ केयर (बाल प्रशामक सेवा) विषयमा केन्द्रित सरोकारवालाहरूको बैठक काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम कान्ति बाल अस्पतालले आयोजना गरेको हो । नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोगमा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वर्ल्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘बन्‍भल’ परियोजनाअन्तर्गत बैठक आयोजना गरिएको थियो ।

बैठकले बाल क्यान्सरबाट बचेका बालबालिका, अभिभावक, चिकित्सक, स्वास्थ्य विज्ञ, तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थालाई एउटै मञ्चमा ल्याएर अनुभव, चुनौती र समाधानका सम्भावनामा सामूहिक छलफल गर्ने अवसर दिएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका संस्थाको सहभागिता थियो ।

कार्यक्रमको पहिलो सत्र क्यान्सर सर्भाइभरसिपमा केन्द्रित थियो । दुई जना बाल क्यान्सर विजेताले आफ्नो जीवनयात्रा सुनाउँदै सत्रको प्रारम्भ गरेका थिए, जसले प्रेरणा र आशाको वातावरण सिर्जना गर्‍यो । त्यसपछि कान्ति बाल अस्पतालकी डा. सानी सिपाईको संयोजकत्वमा प्यानल छलफल भयो, जहाँ अभिभावकहरूले उपचारका क्रममा भोगेका चुनौती, पीडा र सफलताका अनुभव भावनात्मक तरिकाले प्रस्तुत गरे ।

सहभागीका अनुसार उक्त सत्रले स्वास्थ्यकर्मीलाई बालबालिका र अभिभावकको वास्तविक अनुभव नजिकबाट बुझ्न महत्त्वपूर्ण मंच प्रदान गर्‍यो ।

दोस्रो सत्र बाल प्रशामक सेवामा केन्द्रित थियो, जुन क्यान्सर उपचारको अत्यन्त महत्वपूर्ण पाटो मानिन्छ । कान्ति बाल अस्पतालकी डा. निशा ज्योति श्रेष्ठले नेपालका विद्यमान प्यालेटिभ केयर सेवा, संरचना र आवश्यकताबारे प्रस्तुति दिइन् ।

त्यसपछि डा. अलीना देवी भण्डारी र सुश्री हिमानी बिष्टलगायतका स्वास्थ्यकर्मीहरूले तालिमपछि देखिएका सकारात्मक परिवर्तन, सेवा प्रवाहमा आएको सहजता र परिवारसँगको व्यवहारमा परेका सुधारबारे प्रत्यक्ष अनुभव साझा गरे ।

अन्तिममा विशेषज्ञ तथा सरोकारवालाले खुला छलफल गर्दै नेपालमा क्यान्सर भएका तथा जीवन–सीमित अवस्थाका बालबालिकाका लागि अझ प्रभावकारी सेवा संरचना कसरी विकास गर्ने भन्नेबारे सुझाव राखे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहित स्वास्थ्य पेशेवरहरूले बाल क्यान्सर उपचार र प्रशामक सेवाको प्रवद्र्धनका लागि संस्थागत प्रतिबद्धता दोहोर्‍याएका थिए ।

सहभागीहरूको भनाइमा, यो बैठकले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ सहकार्यपूर्ण, करुणामय र परिवार–केन्द्रित बनाउने दिशामा महत्वपूर्ण उपलब्धि जोडेको छ ।

सम्बन्धित खबर