२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

स्वास्थ्य मन्त्रालय आफैं अस्वस्थ 

shivam cement
सपना बोहरा
२०८२ मंसिर २६ गते ०६:२०
Shares
स्वास्थ्य मन्त्रालय आफैं अस्वस्थ 

काठमाडौं : स्वास्थ्यका योजना तथा कार्ययोजना बनाउने थलो स्वास्थ्य मन्त्रालय तीन महिनादेखि आफैं अस्वस्थ छ । मन्त्रालयबाहिर ‘प्रवेश निषेध’ गरिएको सूचना टाँसिएको छ । जेनजी आन्दोलनले मन्त्रालय पूर्ण रूपमा जलेकाले यस्तो सूचना टाँस गरिएको हो । 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले मन्त्रालय पूर्णरूपमा क्षतिग्रस्त भएको छ । हाल मन्त्रालयबाट कुनै काम भएको छैन, कर्मचारी पनि छैनन् । उपकरण र योजनाका फाइल सबै जलेर नष्ट छन् । केही प्रहरीहरूले भने भग्नावशेषलाई सुरक्षा दिइरहेका छन् । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयमा क्षति भएको थियो । मन्त्रालय भवन उपयोग गर्न सक्ने अवस्था छैन । जो पुनर्निर्माणको पर्खाइमा छ । 

मन्त्रालयका कामहरू केहीअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट चलाइएको थियो । अहिले सिंहदरबारबाट आंशिक रूपमा केही विभाग र नेतृत्वले काम सुरु गरेको छ । तर सबै शाखा स्थानान्तरण हुन अझै केही समय लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार मन्त्री कार्यालय, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ ।

सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य संगठनले मन्त्रालयका लागि ६ वटा ‘प्रिफ्याब ब्लक’बाट सेवा सुरु भएको उनले बताए । 

‘मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ । तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो,’ उनले भने  । 

सिंहदरबारभित्र स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सचिव, अतिरिक्त सचिव, नीति योजना तथा अनुगमन महाशाखा, प्रशासन महाशाखाको काम सुचारु भएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथबाट गुणस्तर मापन तथा नियमन महाशाखा, स्वास्थ्य समन्वय महाशाखा, जनसंख्या व्यवस्थापन महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइबाट दिनुपर्ने सेवा प्रवाह भइरहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य कार्यक्रमहरूमा प्रभाव, पोषण सर्वेक्षणलगायत मन्त्रालयका केही महत्वपूर्ण स्वास्थ्य कार्यक्रम भने अस्थायी रूपमा रोकिने अवस्था छ । 

‘भवन पूर्ण रूपमा क्षतिग्रस्त भएकाले पुनर्निर्माण आवश्यक छ । तर बजेट अभावले तत्काल पुनर्निर्माण हुने अवस्था छैन,’ स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केसीले भने, ‘सेवा आंशिक रूपमा सिंहदरबारबाट सुचारु छ तर पूर्णरूपमा स्थानान्तरण हुन बाँकी छ ।’

अहिले मन्त्रालयबाट जेनजी आन्दोलनका घाइतेहरूको व्यवस्थापन र वर्गीकरणको काम भइरहेको छ । साथै महत्वपूर्ण स्वास्थ्य कार्यक्रमबारे योजना बनाइरहेको उनले बताए । ‘मन्त्रालयको भवन पूर्ण ध्वस्त भएपछि स्वास्थ्य सेवाप्रणालीमा थप भार परेकाले समस्या छ,’ उनले भने । 

आन्दोलनका क्रममा धेरै घाइते भएकाले स्वास्थ्य मन्त्रालयले घाइतेहरूको क्लासिफिकेसन गर्न प्राविधिक समिति गठन गरेको र उपचार राहत, तथ्यांक वर्गीकरण, स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्ने काम भइरहेको उनले बताए । 

सम्बन्धित खबर