२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

उदयपुरमा ब्राउन सुगरसहित ५ जना पक्राउ

shivam cement
बिन्द्र राई
२०८२ मंसिर २८ गते २२:०७
Shares
उदयपुरमा ब्राउन सुगरसहित ५ जना पक्राउ

उदयपुर : उदयपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार नियमित चेकजाँचको क्रममा त्रियुगा नगरपालिका–६ र बेलका नगरपालिका–९ क्षेत्रबाट कुल १४.९३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो । 

त्रियुगा नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको दुईवटा मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो । बा ४१ प ५५०८ नम्बरको मोटरसाइकलमा ३.२४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चालक त्रियुगा नगरपालिका–१३ निवासी ३९ वर्षीय शसिकान्त चौधरी पक्राउ परेका छन् । 

त्यसैगरी प्रदेश १–०२–०५८ प ७०७५ नम्बरको मोटरसाइकलमा १०.८९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित चालक त्रियुगा नगरपालिका–४ बगाहा निवासी ३७ वर्षीय दवेन्द्र मगर र पछाडि सवार त्रियुगा नगरपालिका–९ निवासी ३५ वर्षीय प्रेम चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–९ रामपुरबजार क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको छ । बसाहाबाट रामपुरतर्फ आउँदै गरेको स ३ प ९२१४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो ।

सोही क्रममा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–४ भोर्लेनी निवासी अन्दाजी २६ वर्षीय सञ्जीव राई र १९ वर्षीय प्रवेश राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

प्रहरीले उनीहरूको साथबाट स्पास्पेन ४ ट्याबलेट, ट्रामाडोल ३ ट्याबलेट तथा नेपाली रुपैयाँ १९ हजार ७ सय १५ समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

सम्बन्धित खबर