
पश्चिम नवलपरासी : सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टरले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको कफी दाना र एक थान ट्याक्टर बरामद गरेको छ । मंगलबार बिहान करिब ४ बजे सरावल गाउँपालिका–७ गणेशपुरस्थित दशगजा नजिकको सीमा क्षेत्रमा उक्त सामग्री नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीले सीमा निगरानीलाई कडा बनाउने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको अवस्थामा कफी दानासहितको ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद कफी दाना २०४० केजी (३४ बोरा, प्रति बोरा ६० केजी) रहेको छ, जसको अनुमानित मूल्य २२ लाख ४४ हजार रुपैयाँ छ । यसैगरी ढुवानीमा प्रयोग भएको लु ३ त ३२३६ नम्बरको ट्याक्टरको अनुमानित मूल्य ८ लाख रुपैयाँ छ । कुल बरामद सामग्रीको मूल्य ३० लाख ४४ हजार रुपैयाँ बराबर रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सूचना अधिकारी तथा डिएसपी गोविन्दबहादुर केसीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रबाट अवैध सामग्री भित्र्याउने प्रयास बढ्दै गएको छ । यसले राजस्व संकलनमा प्रत्यक्ष असर पार्ने भएकाले सीमा निगरानीलाई थप प्रभावकारी बनाइएको उनले बताए ।
बरामद कफी दाना र ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको डिएसपी केसीले जानकारी दिए । सीमा क्षेत्रमा यस्ता अवैध गतिविधि रोक्न सशस्त्र प्रहरीको सक्रियता बढ्दै गएको छ ।