
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण, तयारी तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विपद्सम्बन्धी नीति तथा पूर्वसूचना कार्यविधीहरूबारे एकदिने कार्यशाला सम्पन्न भएको छ ।
मानवीय सहायता साझेदारी मञ्च, केयर नेपाल, निड्स तथा कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित सजग समाज परियोजनाअन्तर्गत उक्त कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाले स्थानीय तहमा विपद् व्यवस्थापनका नीतिगत पक्ष, पूर्वसूचना प्रणालीको अवस्था तथा आपतकालीन तयारीलाई थप सुदृढ बनाउने लक्ष्य राखेको आयोजक संस्थाले जनाएको छ ।
कार्यशालामा गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रमुखहरू, स्थानीय विपद् व्यवस्थापन समिति, समुदायस्तरीय विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू तथा प्रहरीको सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा स्थानीय तहमा विद्यमान विपद् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यविधि, बाढी तथा अन्य प्राकृतिक विपद्का लागि प्रयोगमा रहेका पूर्वसूचना प्रणालीको प्रभावकारिता, आपतकालीन तयारी, उद्धार तथा राहत व्यवस्थापनमा देखिएका चुनौतिलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह, समुदायको सक्रिय भूमिका तथा स्थानीय सरकारको दायित्व अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, सहभागीहरूले समुदायस्तरमा पूर्वतयारी योजना, अभ्यास (ड्रिल), जोखिमयुक्त बस्ती पहिचान तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप मजबुत बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यशालाबाट प्राप्त सुझावहरूलाई आगामी दिनमा स्थानीय विपद् व्यवस्थापन योजना तथा पूर्वसूचना प्रणाली सुधारमा उपयोग गरिने जनाइएको छ । यस प्रकारका कार्यक्रमले स्थानीय तहलाई विपद्प्रति थप सचेत, सक्षम र उत्तरदायी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।