२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पर्साको भौराटारमा निःशुल्क आँखा शिविर, ४६३ जनाको मोतियाबिन्दुको शल्यक्रिया

shivam cement
लालबाबु बानिया
२०८२ पुष १ गते १८:१३
Shares
पर्साको भौराटारमा निःशुल्क आँखा शिविर, ४६३ जनाको मोतियाबिन्दुको शल्यक्रिया

पर्सा : पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारमा आयोजित तीनदिने निःशुल्क आँखा शिविर सोमबार सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा बहुदरमाई नगरपालिका वडा नं. ५ र जनमुखी युवा क्लब भौराटारको संयुक्त आयोजनामा चलेको शिविरमा हजारौं स्थानीयले लाभ लिएका छन् ।

शिविरमा कुल ५ हजार ५ सय १४ जनाको आँखा जाँच गरिएको थियो । तीमध्ये ४६३ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि उनीहरूको भौराटारमै तीन दिन क्याम्पिङ गरेर निःशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ । शल्यक्रिया गरिएका बिरामीहरूलाई औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो ।

यसअघि संयुक्त टोलीले पर्साकै ६ वटा पालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरी मोतियाबिन्दुका बिरामी छनोट गरेको थियो । सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, छिपहरमाई, पकाहामैनपुर र बहुदरमाई गरी यी पालिकाका बिरामीहरूलाई भौराटारमा ल्याएर शल्यक्रिया गरिएको हो ।

शिविर सम्पन्न भएपछि सोमबार आयोजित विशेष समारोहमा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक टोलीलाई विदाई गरियो । कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष सुनिल महतो कोइरी विशिष्ट अतिथि थिए भने जनमुखी युवा क्लबका अध्यक्ष शिवशंकर साह, तिलगंगाका प्राविधिक डा. प्रशान्त, एलिना गौचन, हेमन्त झा र दीप्ती पौडेलको सहभागिता रहेको थियो ।

यसैगरी, क्लबका सचिव रामप्रबेश मण्डल, स्वागत मन्तव्य दिने रामबाबु साह, शसस्त्र प्रहरी बल बागेश्वरी तित्राउना का प्रमुखलगायत समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रम सञ्चालक दुलारचन्द प्रसाद साहले राम्रो काम गर्ने व्यक्तिहरूलाई प्रशंसा पत्र र सम्मान प्रदान गरेका थिए ।

आयोजकहरूका अनुसार यो शिविरले स्थानीय स्तरमा आँखा उपचारको पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

सम्बन्धित खबर