
काठमाडौं : रामशाह पथस्थित पद्मोदय माध्यमिक विद्यालय पुग्दा छात्रछात्र विद्युतीय तारबाट बत्ती बाल्ने काम गरिरहेका थिए । कोही यसबाट उनीहरूले सामान्य वायरिङसम्बन्धी व्यावहारिक ज्ञान दिइरहेका थिए भने कोही ब्युटिसियनसम्बन्धी सिप सिक्दै थिए । केही विद्यार्थी चित्र कोर्न मस्त थिए । त्यति मात्र होइन कोही आफ्नो रुचिअनुसार गीत गाउन सिक्दै थिए भने कोही फुटबल, किक्रेटलगायतका खेलमा रमाइरहेका थिए ।
तिनै विद्यार्थीको बिचमा इलेक्ट्रिकसम्बन्धी काम सिकिरहेका छन्– दीपेन्द्र यादव । कक्षा ९ मा अध्यनरत यादव एसइईपछि भने आइटी पढने योजनामा छन् । ‘मैले इलेक्ट्रिसिटीसम्बन्धी सिप विद्यालयमा सिक्दै छु, बत्तीका स्वीच बनाउन जानेको छु । सामान्य विद्युतका काम घरमा पनि गर्छु,’ यादवले भने ।
त्यति मात्रै होइन उनी टोलमा कसैको घरमा विद्युत्सम्बन्धी समस्या आयो भने मर्मत गरिदिन्छन् । ‘विद्यालयमा सिप सिक्न पाउँदा खुसी लाग्यो,’ उनी भन्छन्, ‘विद्यालयमा सिकेको सिप घरमा–टोलमा पनि काम लागेको छ ।’
कक्षा ७ मा अध्ययनरत अर्का विद्यार्थी विक्कीकुमार राम भने चित्र कोर्न मस्त थिए । उनलाई चित्र कोर्न मन पर्छ । प्रत्येक शुक्रबार उनको चित्र कोरेर नै बित्छ । ‘अन्य दिन विद्यालयकै गहृकार्य पढाइमा समय बित्छ,’ उनले भने, ‘शुक्रबार आफूले चाहेको विषयमा चित्र कोर्न सयम पाउँछु ।’ शुक्रबार पनि उनले आफूले कोरेका चित्र विद्यालयका शिक्षकलाई देखाउँदै थिए ।
विद्यालयमा ३०/३० वटा विद्यार्थीहरूको समूह बनाएर उनीहरूको रुचिअनुसारको क्रियाकलाप गर्न विद्यालयले वातावरण मिलाइदिने गरेको पद्मोदय माध्यमिक विद्यालयका निमावि तहका सहइन्चार्ज गणेशप्रसाद सिटौलाले बताए । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले संगीत, योगा, संस्कृति तथा सम्पदाको अध्ययन, नृत्य, आर्टलगायतका क्रियाकलाप गरिरहेको बताए । ‘कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले भने विभिन्न सिप सिक्ने गरेका छन्,’ उनले भने, ‘त्यसका लागि शिक्षकले संयोजन गरिरहेका छौं ।’ विद्यालयमा विद्यार्थीहरूले ब्युटिसियन, पलम्बिङ, इलेक्ट्रिसिन, कम्प्युटरमा कोडिङलगायतका सिप सिकिरहेको उनले बताए ।
पद्मोदय स्कुलजस्तै महानगरका ८७ वटा सामुदायिक विद्यालय छन् । तीनवटा विद्यालयबाहेक सबै विद्यालयका बुक फ्रि फ्राइडे लागु गरिएको छ । यसरी विद्यार्थीहरूले शुक्रबारको दिन किताबमा नियमित पढ्दै आएको कुरा निकै सरल तरिकाले प्रयोगमा ल्याउँदै आएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा प्रत्येक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । मेयर बालेन शाहको चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सिप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरेका थिए । सोही घोषणाअनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको हो ।
काठमाडौं महानगरपालिका शिक्षा शाखा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले काठमाडौं महानगरको बुक फ्रि फ्राइडे अभियान भएको बताए ।
विद्यार्थीहरू शुक्रबारको दिन आफ्नो रुचिअनुसारको क्रियाकलाप गर्न पाउने बताए । ‘विद्यालयको पढाइबाहेक रुचिअनुसारको कसैले नाच्ने, गाउने, चित्र कलालगायतका क्रियाकलापहरू गर्छ,’ ज्ञवालीले भने , ‘त्यति मात्र होइन व्यावसायिक सिप पनि सिक्दै आइरहेका छन् ।’ उनका अनुसार शिक्षामा सिपअन्तर्गत कक्षा ९ मा अध्यनरत विद्यार्थीहरूले पलम्बिङ, वाइरिङ, ब्युटिसियनलगायतका सिपहरू सिकिरहेका छन् । त्यसका लागि शैक्षिक कार्यक्रमअन्तर्गत नै आवश्यक सामग्री किन्न सम्बन्धित विद्यालयमा नै बजेट पठाउने गरेको छ । ‘बुक फ्रि फ्राइडेका दिन विद्यार्थीले चाहेका क्रियाकलाप गर्न पाउँदा खुसी देखेका छौं,’ उनले भने । विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्न महानगरले पछिल्लो वर्षदेखि विद्यालयमा शुक्रबार ‘बुक फ्रि फ्राइडे’ (किताबबिनाको शुक्रबार) अभियान चलाइरहेको छ ।