
रौतहट : पुस महिना लागेसँगै तराई-मधेश क्षेत्र चिसो र बाक्लो हुस्सुको कठोर चपेटामा परेको छ । रौतहटसहित बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा लगातार घाम नलाग्दा जनजीवन कष्टकर बनेको छ । शीतलहरको असरले गरिब, ज्यालादारी मजदुर र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् ।
बिहीबारदेखि मौसममा आएको परिवर्तनले तराई-मधेश क्षेत्र शीतलहरको चपेटामा परेको हो ।
तराईमा अहिले बाक्लो कुहिरो र हुस्सु छाएको छ । दिउँसै अँध्यारो जस्तो महसुस हुने अवस्थाका कारण सडकमा सवारीसाधनहरू हेडलाइट बालेर मन्द गतिमा गुड्न बाध्य छन् भने तराईका विभिन्न विमानस्थलहरूबाट हुने उडानहरू प्रभावित भएका छन्, केही उडान रद्द समेत भएका छन् ।
चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिन थालेका छन् । मानिसहरूको आवतजावत घटेको छ भने स्थानीयहरू चोक–चोकमा दाउरा बालेर आगो ताप्दै चिसो छल्ने प्रयास गरिरहेका छन् । तर यसरी आगो ताप्दा उत्पन्न धुवाँले स्वास्थ्य जोखिम बढाएको चिकित्सकहरूले बताएका छन् ।
शीतलहरले गरिब, भूमिहीन र दैनिक ज्यालादारी मजदुरहरूलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । न्यानो कपडा, कम्बल र ओढ्ने–ओछ्याउनेको अभावमा विपन्न समुदाय कठोर चिसो सहन बाध्य भएका छन् ।
लामो समयसम्म घाम नलाग्दा र ओसिलोपन बढ्दा कृषि क्षेत्रमा पनि नकारात्मक असर पर्न थालेको छ । विशेषगरी आलु, गोलभेंडालगायतका मौसमी तरकारीमा डढुवा रोग लाग्ने र बोट सुक्ने समस्या देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार चिसो बढेसँगै अस्पताल तथा स्वास्थ्य चौकीहरूमा दम, निमोनिया, रुघाखोकी र ज्वरोका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । बालबालिका र वृद्धवृद्धा शीतलहरको प्रत्यक्ष मारमा परिरहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म चिसो अझै बढ्न सक्ने चेतावनी दिएको छ । स्वास्थ्यकर्मीहरूले शरीर पूरै ढाकिने गरी न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा र मनतातो पानी सेवन गर्न, आगो वा हिटर बाल्दा हावा आवतजावत हुने व्यवस्था मिलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।
विगतका वर्षहरूमा शीतलहरका कारण ज्यानसमेत गुमेका घटनालाई स्मरण गर्दै सरोकारवालाहरूले स्थानीय प्रशासन र सरकारलाई समयमै सतर्कता अपनाउन आग्रह गरेका छन् । चोक–चोकमा दाउराको व्यवस्था, विपन्न परिवारलाई कम्बल वितरण र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधीको पर्याप्त मौज्दात राख्न ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।