
रौतहट : माधवनारायण नगरपालिकाले नगरभित्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विकास–निर्माणका कामलाई तीव्र बनाएको छ । नगर प्रमुख बैजनाथप्रसाद यादवको पहलमा माधोपुरस्थित पैनीदेखि धार्मिक स्थल ब्रह्म बाबाको मन्दिरसम्म पक्की सडक र दुवैतर्फ नाला निर्माणको काम सुरु गरिएको हो ।
वर्षौंदेखि कच्ची र हिलाम्मे अवस्थामा रहेको उक्त सडक खण्डका कारण स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । वर्षायाममा सडकभरि हिलो जम्ने र हिउँदमा धुलो उड्ने समस्याले विद्यार्थी, वृद्धवृद्धा तथा सर्वसाधारणको आवतजावत निकै कष्टकर बन्दै आएको थियो । दीर्घकालीन समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले सडकलाई व्यवस्थित र आधुनिक बनाउने योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नगर प्रमुख यादव स्वयं फिल्डमा सक्रिय देखिएका छन् । हाल सडकको दुवैतर्फ नाला निर्माणका लागि डोजर प्रयोग गरी खाल्डो खन्ने काम भइरहेको छ । निर्माण स्थलमै पुगेर नगर प्रमुखले अनुगमन र व्यवस्थापन गरिरहँदा स्थानीयवासीमा उत्साह थपिएको छ ।
अनुगमनका क्रममा नगर प्रमुख यादवले नगरवासीको जीवनस्तर सहज बनाउनु नै प्राथमिकता रहेको बताउँदै गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । नाला निर्माण सम्पन्न भएलगत्तै सडकलाई व्यवस्थित रूपमा पक्की बनाइने उनको भनाइ छ ।

नगरपालिकाले सडक निर्माणअघि नाला व्यवस्थापनलाई विशेष महत्व दिएको छ । दुवैतर्फ नाला बनेपछि वर्षाको पानीका कारण सडक बिग्रने समस्या कम हुने र सडक दीर्घकालीन रूपमा टिकाउ हुने प्राविधिकहरूको अपेक्षा छ । यसबाट माधोपुर बजार क्षेत्रको पुरानो जलमग्न समस्या समेत समाधान हुने विश्वास गरिएको छ ।
धार्मिक दृष्टिले महत्वपूर्ण ब्रह्म बाबाको मन्दिर जाने बाटो सुधार हुन थालेपछि स्थानीय श्रद्धालुहरू खुसी देखिएका छन् । एक स्थानीय बासिन्दाले वर्षौंदेखि माग हुँदै आएको सडक निर्माण अन्ततः सुरु भएकाले विकासको अनुभूति भएको प्रतिक्रिया दिए ।
सडक निर्माण सम्पन्न भएपछि व्यापारिक गतिविधि विस्तार हुने, स्वास्थ्य सेवामा पहुँच सहज हुने र विद्यार्थीहरूलाई विद्यालय जान सजिलो हुने विश्वास गरिएको छ । नगर प्रमुख यादवका अनुसार नगरपालिकाले अन्य वडाहरूमा पनि आवश्यकता अनुसार रणनीतिक सडक, ढल निकास र अन्य भौतिक पूर्वाधारका कामलाई निरन्तरता दिने योजना बनाएको छ । नगरलाई सुखी, समृद्ध र व्यवस्थित बनाउने आफ्नो चुनावी प्रतिबद्धताप्रति आफू दृढ रहेको उनले बताए ।