
बर्दिया : बर्दियाको राजापुर नगरपालिका–१ सोनपुरस्थित कालिका माध्यमिक विद्यालयका छात्रछात्राहरूले विद्यालयस्तरीय कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी आफूले प्राप्त गरेको ज्ञान तथा सिकाइ अनुभव सार्वजनिक गरेका छन् ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोनाहा विकास समाज बर्दियामार्फत सञ्चालित ग्लोबल युथ नेटवर्क कार्यक्रममा आवद्ध कक्षा ८ सम्मका विद्यार्थीहरूले उक्त अनुभव औपचारिक रूपमा प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण देखिएका असरहरू, त्यसबाट उत्पन्न वातावरणीय जोखिम तथा न्यूनीकरणका सम्भावित उपायहरूबारे तथ्यपरक प्रस्तुति दिएका थिए ।
साथै, सोही नेटवर्कअन्तर्गत कोरियाली विद्यार्थीहरूसँग अनलाइन माध्यमबाट गरिएको अनुभव आदान–प्रदानबाट प्राप्त सिकाइहरू पनि सहभागीहरूसँग साझा गरिएको थियो । वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती, तिनको रोकथामका उपाय तथा युवापुस्ताको भूमिकामा केन्द्रित प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहेको थियो । विशेषगरी दिगो विकास लक्ष्यसँग सम्बन्धित विषय तथा जलवायु परिवर्तनले पारेका प्रभाव र समाधानका उपायबारे पाँच समूहमा विभाजित विद्यार्थीहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
सोनाहा विकास समाजका कार्यक्रम संयोजक रत्न केसीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व क्षमता अभिवृद्धि, वातावरणीय चेतनाको विकास तथा जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सिकाइ अनुभव उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया दिँदै यस्ता शैक्षिक तथा चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए । कार्यक्रमको व्यवस्थापन कालिका इको क्लबका विद्यार्थीहरूले गरेका थिए ।