
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा पालिकास्तरीय अपांगता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूका लागि अपांगता, समितिको काम, कर्तव्य तथा अधिकार तथा समावेशी शिक्षा विषयमा केन्द्रित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको भूमिकालाई सशक्त बनाउने उद्देश्यले गेरुवा गाउँपालिकाको समन्वयमा वास गेन्स परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा अपांगताको परिभाषा, प्रकार र पहिचान, अपांगता भएका व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार, राष्ट्रिय अपांगता नीति तथा अपांगता अधिकार ऐनका प्रावधानहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै स्थानीय सरकारको दायित्व, पालिका स्तरीय अपांगता समन्वय समितिको संरचना, अधिकार क्षेत्र, भूमिका र कार्यविधिबारे सहजीकरण गरिएको थियो ।
कार्यक्रममा समावेशी शिक्षाको अवधारणा, अपांगता भएका बालबालिकाको विद्यालयमा पहुँच, शिक्षामा निरन्तरता र गुणस्तरीय सिकाइ सुनिश्चित गर्ने उपायहरूबारे व्यवहारिक उदाहरणसहित छलफल गरिएको थियो । यस क्रममा विद्यालयमा भौतिक पहुँच, शिक्षण–सिकाइ सामग्री, शिक्षकको भूमिका र अभिभावकको सहकार्यजस्ता विषयलाई विशेष जोड दिइएको थियो ।
अभिमुखीकरणका क्रममा अपांगता भएका व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सार्वजनिक सेवा तथा भौतिक पूर्वाधारमा भोग्दै आएका दैनिक चुनौतीहरूलाई तथ्य र अनुभवका आधारमा प्रस्तुत गरेका थिए । सहभागीहरूले विद्यालय तथा सार्वजनिक भवनहरूमा अपांगता–मैत्री संरचना, ¥याम्प, ह्याण्डरेल, संकेत चिह्न, सुरक्षित तथा पहुँचयुक्त शौचालय र स्वच्छ खानेपानीको व्यवस्था अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले अपांगता समन्वय समितिलाई कागजी संरचनामा मात्र सीमित नराखी नीति निर्माण, योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन तथा अनुगमनसम्म प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए । उनीहरूले अपांगता भएका व्यक्तिहरूका सरोकार, आवश्यकता र आवाज स्थानीय विकास योजनामा अनिवार्य रूपमा समेटिने प्रतिबद्धता पनि व्यक्त गरे ।
वास गेन्स परियोजनाका प्रतिनिधिहरूले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा अपांगता भएका व्यक्तिहरूको समावेशी पहुँच सुनिश्चित गर्न परियोजनाले स्थानीय तहसँग सहकार्य गर्दै क्षमता विकास, संरचना सुधार तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा सहभागी पदाधिकारी तथा सदस्यहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले आफ्नो जिम्मेवारी, अधिकार र भूमिकाबारे स्पष्टता ल्याएको, साथै अपांगता समावेशी विकासलाई व्यवहारमा उतार्न थप उत्प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।