२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

सबै बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र : विदेशका नेपालीलाई के होला ?

himalayanlife
२०८१ साउन १४ गते ०६:५५
Shares
सबै बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र : विदेशका नेपालीलाई के होला ?

काठमाडौं : नेपाल बीमा प्राधिकरणले सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र नम्बर ‘एनआईडी’ अनिवार्य लागू गर्ने निर्देशन जारी गरेको छ । प्राधिकरणले आगामी माघ १ गतेदेखि लागू हुने गरी सबै खाले बीमा कारोबारका लागि बीमितको राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य समावेश गर्ने बताएको छ ।

यसले वैदेशिक रोजगारका लागि मुलुक बाहिर रहेका नेपाली नागरिकको बीमा नवीकरण गर्न समस्यामा पर्ने देखिएको छ । बीमा प्राधिकरणले निर्देशनमा भनेको छ, ‘नेपाली नागरिकको नाममा जारी हुने नयाँ बीमालेख, ऋण, दाबी भुक्तानी, बीमालेख नवीकरणलगायतका सबैखाले बीमा कारोबारमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य समावेश गर्नू ।’ सरकारले राहदानीमा पनि साउनदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ ।

वैदेशिक रोजगारमै रहेका वा अन्य कुनै कारणवश विदेशमा अस्थायी बसोबास गरिरहेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेका छैनन् । वैदेशिक रोजगारमा विदेशबाट पुनः श्रम स्वीकृति लिन रोजगारमा रहेका मुलुकबाट म्यादी बीमा गर्न पाउने व्यवस्था छ ।

धेरैले हाल काम गरिरहेको मुलुकबाट अनलाइन भुक्तानी प्रणालीबाट बीमा शुल्क तिरेर श्रम स्वीकृति नवीकरण गराइरहेका छन् । तर राष्ट्रिय परिचयपत्रका लागि नागरिकता जारी गरिएको आफ्नो जिल्ला वा काठमाडौं उपत्यकामा राहदानी विभाग र तोकिएको कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्रका लागि फारम पाउने व्यवस्था छ । 

प्राधिकरणको निर्देशनले डिजिटल माध्यमबाट विदेशमा रहेका नेपाली नागरिकलाई म्यादी  बीमालेख बिक्री गर्न नसक्ने अवस्था हुने भएको छ । नेपालमा बीमा गरेपछि विदेशमा वैदेशिक रोजगारी वा अन्य पेशा गरेर बसेका वा नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिने प्रक्रियामा रहेका नेपालीलाई राष्ट्रिय परिचयपत्रको अभावमा बीमा दाबी भुक्तानी लिनसमेत समस्या हुने देखिएको छ ।

सम्बन्धित खबर