२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

१ सय २७ को मोतियाविन्दु शल्यक्रिया गरिने

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष १२ गते १९:५३
Shares
१ सय २७ को मोतियाविन्दु शल्यक्रिया गरिने

रौतहट : रोतहटको सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको एक दिने निःशुल्क मोतियाविन्दु शल्यक्रिया तथा आँखा परीक्षण शिविर शनिबार भव्यताका साथ सम्पन्न भएको छ । 

नेपाल–भारत मैत्री संघ रौतहटको समन्वय तथा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजना एवं प्राविधिक सहयोगमा इशनाथ नगरपालिका–१ बन्जरहास्थित आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो । 

स्थानीय समाजसेवी एवं नेपाल–भारत मैत्री संघ रौतहटका अध्यक्ष गृषनन्दन कुमार सिंहको विशेष पहलमा आयोजित उक्त शिविरबाट सीमावर्ती क्षेत्रका गरिब, असहाय तथा विपन्न वर्गका नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन् । 

शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार शिविरमा कूल ७ सय ४२ जनाले आँखा परीक्षण गराएका थिए । जसमा ४ सय १९ महिला र ३ सय २३ पुरुष रहेका छन् । परीक्षणका क्रममा दृष्टिदोष देखिएका १ सय ५६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने २ सय २९ जनालाई आवश्यक औषधि उपलब्ध गराइएको हो । 

यस्तै, मोतिबिन्दु भएका १ सय २७ जना बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको हो । उनीहरूको गौर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाए । नेपाल–भारत मैत्री संघ रौतहटका जिल्ला अध्यक्ष गृषनन्दन कुमार सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल र भारतका उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथिको रूपमा भारतीय पक्षबाट बिहार विधान सभा सदस्य एवं पूर्व मन्त्री राणा रणधीर सिंह र नेपालको तर्फबाट मधेश प्रदेशका पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेस रौतहटका सभापति सुनील कुमार यादव सहभागी रहेका छन् । 

यस्तै, इशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी, उपप्रमुख प्रवेज आलम, नेपाल नेत्रज्योति संघ रौतहटका अध्यक्ष विजयकुमार सिंह लगायतले शिविरको अवलोकन गर्दै मानवीय सेवाको यो कार्यको प्रशंसा गरे ।

कार्यक्रममा  प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, नेत्रज्योति संघका सचिव बच्चाबाबु यादव तथा भारतीय सीमावर्ती क्षेत्रका पञ्चायत सदस्य अब्दुल्लाह अन्सारी र स्थानीय कार्यवाहक वडाध्यक्ष तजमुल खाँको समेत उपस्थिति रहेको थियो । 

प्राविधिक टोली र सेवा प्रवाह

गौर आँखा अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. मनोजकुमार साहको नेतृत्वमा १५ सदस्यीय प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो । टोलीमा नेत्र अधिकृत विनिता केशरी, दृष्टि विशेषज्ञ मदन चौधरीसहित अशोक कुमार पासवान, अमित दास, जितेन्द्र साह, जितेन्द्र यादव, गौरी राउत र प्रद्युम्न यादव लगायतका स्वास्थ्यकर्मीहरू सक्रिय रहेका थिए ।

समापनका क्रममा अध्यक्ष गृषनन्दन कुमार सिंहले विपन्न वर्गका मानिसहरू जो आर्थिक अभावमा उपचारबाट वञ्चित थिए, उनीहरूको घरआँगनमै पुगेर सेवा दिन पाउनु खुशीको कुरा रहेको बताए । उनले शिविर सफल पार्न सहयोग गर्ने चिकित्सक टोली, स्थानीय प्रशासन, र सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे । 

सीमावर्ती बन्जरहामा आयोजित यस शिविरले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकलाई ठूलो राहत पुर्‍याएको स्थानीयले बताए ।

सम्बन्धित खबर