
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचनले देशका समस्याहरू समाधान गर्न पर्याप्त नहुने बताएका छन् ।
आइतबार राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले मुलुक अहिले साधारण राजनीतिक संकटमा नभई प्रत्यक्ष भूराजनीतिक जटिलतामा फसेको बताए ।
लिङ्देनका अनुसार, तोकिएको समयमा निर्वाचन भए पनि यसले देशलाई अझै अस्थिर र अनिश्चित दिशातर्फ धकेल्न सक्ने सम्भावना रहेको छ । उनले भने, ‘अबको चुनौती केवल सरकार बनाउने वा चुनाव जित्ने मात्र होइन, देशलाई कसरी जोगाउने र बचाउने भन्ने ऐतिहासिक जिम्मेवारी नेपाली राजनीतिक शक्तिहरूको काँधमा आएको छ ।’
अध्यक्ष लिङ्देनले नेपालको निर्णायक क्षमता क्रमशः जनताको हातबाट बाहिरिँदै गएको र वर्तमान राजनीतिक अभ्यासले राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हित कमजोर पारिरहेको समेत बताए ।
उनले नवयुवा पुस्ताको भावना समेटेर सबै राजनीतिक शक्तिहरूबीच न्यूनतम सहमति भएपछि मात्रै चुनाव सम्भव हुने बताए र पुरानो शैलीको राजनीति छाडेर राप्रपा नयाँ सोच र स्पष्ट दृष्टिकोणसहित अघि बढेको बताए ।
साथै, संघीयता नचाहने र विचार मिल्ने सबै राजनीतिक शक्तिसँग सहकार्य गर्दै केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको जानकारी दिएका छन् ।