
बर्दिया : गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोनाहा विकास समाज, बर्दियामार्फत सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सामाजिक लेखा परीक्षण कार्यक्रम गेरुवा गाउँपालिकामा सम्पन्न भएको छ ।
गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा परियोजनाका संयोजक रत्न के.सी.ले सन् २०२५ जनवरीदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि तथा खर्च विवरण सार्वजनिक गरेका थिए ।
बाल केन्द्रित उक्त परियोजनाले बालबालिकाको विद्यालय पहुँच सुनिश्चित गर्ने, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भौतिक तथा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने, अभिभावकलाई आयआर्जनका लागि सहकारीसँग जोड्ने, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्ने कार्य गर्दै आइरहेको छ । साथै बाल संरक्षण प्रवद्र्धन तथा बालविवाह अन्त्यका लागि निरन्तर वकालत र पैरवी गर्दै आइरहेको यस परियोजना स्थानीय तहमा उदाहरणीय बनेको गेरुवा गाउँपालिकाका सामाजिक शाखा प्रमुख एवं वडा नं. ३ का अध्यक्ष निर्मल चौधरीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष चौधरीले स्थानीय तहको संरचना गठन हुनुअघि देखिनै गुड नेवर्स इन्टरनेशनल नेपाल तथा सहयोगी संस्था सोनाहा विकास समाजले बर्दिया जिल्लाको मधुवन, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् । उनले स्थानीय सरकार गठनपछि पनि नियमित समन्वय, सहकार्य तथा प्रत्यक्ष सहभागितामार्फत विकास निर्माणमा अतुलनीय योगदान पु¥याउँदै आएको भन्दै सोनाहा विकास समाजको प्रशंसा गरिन् ।
कार्यक्रममा राजापुर नगरपालिकाका जनप्रतिनिधि, गेरुवा गाउँपालिका वडा नं. १, २ र ३ का वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, सहकारी अध्यक्ष, स्वास्थ्य सेवा प्रमुख, कृषि, शिक्षा तथा महिला, बालबालिका शाखाका प्रतिनिधि, बाल क्लब, महिला स्वयंसेविका तथा उद्यमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सामाजिक लेखा परीक्षणको खुला सत्रमा सहभागीहरूले ग्रामीण क्षेत्रका समुदाय तथा बालबालिकामा देखिएको अल्परक्तताको समस्या न्यूनीकरणका लागि जनस्वास्थ्य कार्यक्रम आवश्यक रहेको औंल्याएका थिए । साथै विद्यालय तथा समाजमा बढ्दो लागूऔषध दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा प्रस्तुत विवरणअनुसार परियोजनाले कुल बजेटको ९८.५१ प्रतिशत खर्च गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिइएको छ । हाल एक कार्यक्रम सञ्चालनमा रहेको र उक्त कार्यक्रम डिसेम्बर २०२५ भित्र सम्पन्न हुने जनाइएको छ ।
कार्यक्रमको अध्यक्षता सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले गरेका थिए ।