
अर्घाखाँची : जिल्लाको मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले आयुर्वेद उपचार पद्धति वडातहसम्म पुर्याउने बताएका छन् । नागरिक आरोग्य केन्द्र आयुर्वेद शाखा मालारानीले आयोजना गरेको विद्यार्थीहरूका लागि आयुर्वेद सचेतना, स्वस्थ खानपिन जीवनशैली र योग शिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
यो सेवा वडातहमा बिस्तार गर्ने योजना भए पनि तत्काल बजेट अभावका कारण समस्या हुने गरेको बताए । उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढंगले विकास गर्ने कोसिसमा मालारानी रहेको बताएका छन् ।
आयुर्वेदमा नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति पनि जोडिएको भट्टराईले उल्लेख गरे । आयुर्वेद संस्कृति र सभ्यता भएको भन्दै आयुर्वेद हबको रूपमा अर्घाखाँचीलाई विकास गर्नुपर्नेमा जोड दिए ।
हरेक प्रकारका बिरामीको संख्या ५ वर्षअगाडि जति थियो, आज त्यसको तीन गुणा बढेको अध्यक्ष भट्टराईले सुनाए । यसरी नै बिरामी बढ्दै जाने हो भने उपचार सेवा उपलब्ध गराउन कठिन हुने भएकाले आयुर्वेद स्वास्थ्य केन्द्र थप गर्नुपर्ने उनको माग छ ।
निरोगी नागरिकलाई रोग लाग्न नदिन के–के उपाय अपनाउन सकिन्छ ? त्यसका लागि कोसिस गरिरहेको भट्टराईले बताए । उनले भने, ‘आयुर्वेदलाई विकास गर्ने कोसिस गरिरहेका छौं ।
हाम्रो नागरिक आरोग्य सेवा वडातहमा आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचारबारेमा विद्यार्थी र शिक्षकहरूलाई ज्ञान हुन आवश्यक रहेको वरिष्ठ पत्रकार तथा चर्चित योग गुरु अशोक खनालले बताए ।
‘यो हाम्रो जीवनपद्धति हो । हाम्रो संस्कृति र सभ्यता पनि हो,’ खनालले भने, ‘आयुर्वेद जडिबुटीको हब अर्घाखाँचीमा छ । यसको सदुपयोगमा स्थानीय सरकार गम्भीर हुन जरुरी छ ।’
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भेषराज खनाल, वडाध्यक्ष डन्डपानी पोख्रेल अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कमलप्रसाद आचार्य, योग गुरु अशोक खनाल, मालारानी एफएमका स्टेशन म्यानेजर नवीन केसी विद्यालयका शिक्षक र शिक्षिकाहरूको उपस्थित रहेको थियो ।
कार्यक्रम मालारानी गाउँपालिका–३ का वडाध्यक्ष डन्डपानी पोख्रेलको अध्यक्षता तथा नागरिक आरोग्य केन्द्र खनगुफाका प्रमुख धनबहादुर रावलको सञ्चालनमा सम्पन्न भएको थियो ।