
काठमाडौं : आरती भोग परिवारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउने बिरामी तथा कुरूवा गरी एक वर्षको अवधिमा ७३ हजार जनालाई निःशुल्क भोजन गराएको छ । मुटुको रोग उपचारको लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आउने गरिब तथा असहाय बिरामी र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजन गराउने उद्देश्यसहित डा.बिनुबाबा अर्यालको अग्रसरता उक्त संस्था गत वर्ष मंसिर ३० गते स्थापना गरिएको हो ।
प्रथम वार्षिक साधारणसभाका अवसरमा संस्थाका महासचिव मोहन कुमार ढुंगेलले ‘अन्नदान नै भगवानको परम सेवा हो’ भन्ने मान्यताका आधारमा मन फराकिलो पारेर मंसिर ३० गतेदेखि पुण्य प्राप्तिको काम गरी रहेकोे बताए । निजी चन्दादाताबाट प्राप्त सहयोगका आधारमा सञ्चालन भइरहेको उक्त संस्थाले मानव परोपकारी कार्यलाई सकेसम्म मुलुकका दुरदराजका साधन र श्रोतको अभाव झेलिरहेका अस्पतालसम्म पुर्याउने लक्ष्य रहेकोे बताए । महासचिव ढुंगेलले खाना खानेको संख्या दैनिक बढेको खाद्यान्नको निरन्तर मूल्य वृद्धि भएको र जनशक्तिको अभाव रहेकोे भन्दै यी समस्याको समाधान गर्न सके आगामी दिनमा भण्डार क्षमता र सहयोगी संवंसेवक बढाएर बिहान बेलुकी दुई पटक खाना खुवाउन सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले अन्न नै समस्त प्राणीहरूको प्राण रक्षाको आधार भन्दै भोको व्यक्तिलाई अन्न गरेर अतुलनीय र अनुकरणीय कार्य गरेको भन्दै संस्थाले सुरुवात गरेकोे मानवीय कार्यको प्रशंसा गरे । कार्यक्रमलाई वैदिक अनुसन्धान गुठीका अध्यक्ष १००८ स्वामी डाक्टर केशवानन्द गिरी, संस्थाका संरक्षक एवं बूढानीलकण्ठ मन्दिर दशनामी मठका मठाधीष तथा संरक्षक १००८ स्वामी निगमानन्द गिरी अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि मल्ल, चतुर्भुजाचार्य चुणामणिजी महाराज, रुरु क्षेत्र एवं हयग्रीव मन्दिरका संरक्षक स्वामी जगदीश प्रपन्नचार्य,ॐकार परिवारकम अध्यक्ष मुकुन्द हुमागाई लगायतले सम्बोधन गर्दै मानव सेवामा आरती भोग परिवारले गरेको कार्यको प्रशंसा गरे ।
यसैगरी जगत्गुरु आश्रम एवं जगतनारायण मन्दिर व्यवस्थापन तथा सञ्चालन समिति शंखमुलका अध्यक्ष टिकाराम अर्याल, पशुपतिनाथ एवं बागमती गंगा आरतीका अध्यक्ष जनार्दन शर्मा,चित्रकार हरिप्रसाद शर्मा लगायतको पनि उपस्थिति रहेकोे थियोे । दीप प्रज्वलन तथा भगवान्का तस्बीरमा माल्यार्पण र स्वस्तिवाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा सहयोगीहरूलाई सम्मानित गरिएको थियो ।