२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव

shivam cement
२०८२ पुष १६ गते १८:४३
Shares
९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव

काठमाडौं : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले मुटुरोगसम्बन्धी बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटुको प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको उल्लेख गरे ।

उनकाअनुसार हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडानका लागि आवश्यक कानुनी प्रक्रिया अधिकांश पूरा भइसकेको छ । तर स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा सुरु हुन नसकेको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयबाट अस्पतालले अनुमति पत्र नपाएकै कारण मुटु प्रत्यारोपण गर्न नमिलेको उल्लेख गर्दै उनले लाइसेन्स प्राप्त भएलगत्तै सेन्टरबाट सेवा सुरु गर्न सकिने बताए ।

उनले नेपालमा टिबी, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतीकै रूपमा रहेको बताए ।

स्वास्थ्य क्षेत्रमा नेपालले कुष्ठरोग उन्मूलन गर्न सफल भएको र कालाजारको प्रकोप पनि निकै घटेको जानकारी दिँदै उनले खोप कार्यक्रम देशव्यापी रूपमा विस्तार हुनु मुख्य उपलब्धि भएको बताए । डा. भट्टराईले डेङ्गु अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको भन्दै प्रत्येक वर्ष यसकै कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए । 

उनले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग चुनौतीका रूपमा देखा पर्न थालेको कारण  एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउन थालेकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । 

सम्बन्धित खबर