
दोहा, कतार : काठमाडौंमा सडक दुर्घटनामा मृत्यु भएका संखुवासभाको चैनपुर नगरपालिका खाम्लिङ-९ निवासी अनिल तामाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
संखुवासभा समाज कतारले मृतक तामाङको बालबच्चाको लालनपालनमा सहज होस् भन्ने हेतुले १ लाख २० हजार रुपैयाँ वडा अध्यक्ष शान्तिबहादुर कार्कीको रोहबरमा मृतककी श्रीमती सज्ज माया तामाङलाई हस्तान्तरण गरेको हो ।
समाजमा विभिन्न व्यक्तिहरूबाट संकलित रकम जम्मा गरी सहयोग पठाइएको समाजका अध्यक्ष बिरेन मादेनले बताए । समाजले बालबालिकाको भविष्यका लागि आवश्यक परेमा थप सहयोग जुटाउन पहल गर्ने जनाएको छ । ४ जना सन्तानका पिता रहेका तामाङले काठमाडौंमा रोजगारी गर्दै आफ्नो जीवनयापन चलाउँदै आए पनि केही समय पहिले दुर्घटनामा ज्यान गएपछि परिवार निकै अप्ठ्यारोमा परेको समाजका महासचिव शिवकुमार खत्रीले बताए ।
केही समय पहिले समाजले आगलागीबाट पीडित चैनपुर-४ मैदानेको एक परिवारलाई १९ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।