२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

तमु धिँ नेपाल प्रवास शाखा साउदीले मनायो तमु ल्होसार

shivam cement
अन्जान गुभाजु
२०८२ पुष १९ गते १०:२७
Shares
तमु धिँ नेपाल प्रवास शाखा साउदीले मनायो तमु ल्होसार

खोबार, साउदी अरब : तमु धिँ नेपाल, प्रवास शाखा साउदी अरबले गुरुङ समुदायको मौलिक राष्ट्रिय पर्व तमु ल्होसारको अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी मनाएको छ।

साउदी अरेबियाको पूर्वी प्रान्त अल–खोबारस्थित क्लासिक होटलमा आयोजित ‘त् ल्हो तमु ल्होसार २०८२’ कार्यक्रम नेपाली दूतावास साउदी अरबकी कार्यवाहक राजदूत सिर्जना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम तमु धिँ साउदीका अध्यक्ष खेम तमुको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा साउदी अरबस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, तमु समुदायका अगुवा तथा सदस्यहरू, साथै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तमु संस्कृतिअनुसार झाँकी प्रस्तुत गर्दै सप्रि लो लाई सेसे गरी नयाँ वर्ष ‘त् ल्हो’ लाई स्वागत गरिएको थियो भने तमु समुदायका संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराइएको थियो ।

कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान तथा तमु राष्ट्रिय गीतबाट गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कार्यवाहक राजदूत अधिकारीले गरेकी थिइन् । 

औपचारिक तथा अनौपचारिक गरी दुई चरणमा सम्पन्न कार्यक्रममा तमु तथा नेपाली संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए ।

फरक सांस्कृतिक परिवेश रहेको साउदी अरबमा तमु भेषभूषा, नेपाली राष्ट्रिय परिकार सेलरोटी लगायतका सामग्रीहरू कार्यक्रमका विशेष आकर्षण बनेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत अधिकारीले भनिन्, “विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानलाई जीवित राख्दै तमु समुदायले आयोजना गरेको यस किसिमको कार्यक्रम अत्यन्तै प्रशंसनीय छ । तमु ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, एकता र सांस्कृतिक गौरवको सन्देश दिन्छ । दूतावास सधैँ प्रवासमा रहेका नेपालीहरूको साथमा छ ।”

त्यसैगरी सभापति तथा तमु धिँ साउदीका अध्यक्ष खेम तमुले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “तमु ल्होसार केवल पर्व मात्र होइन, हाम्रो इतिहास, संस्कार र पहिचानसँग जोडिएको राष्ट्रिय उत्सव हो । साउदी अरब जस्तो फरक सांस्कृतिक परिवेशमा पनि तमु संस्कृतिलाई जगेर्ना गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा नेपालबाट राष्ट्रिय गायिका माया गुरुङलगायत कलाकारहरू उपस्थित हुने तय भए पनि प्राविधिक कारणवश आउन नसकेको जानकारी अध्यक्ष खेम तमुले गराए ।

तमु समुदायको भाषा, संस्कृति र पहिचानलाई प्रवासमा पनि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

सम्बन्धित खबर