
रौतहट : जिल्लाको सदरमुकाम गौर नगरपालिका–९ सिर्सियामा आयोजित एक बृहत् निःशुल्क आँखा उपचार तथा परामर्श शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
स्थानीय समाजसेवी तथा उद्योगी–व्यवसायी विजय श्रीवास्तव र अजय श्रीवास्तवको विशेष पहलमा विगत एक दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको यस सेवामूलक कार्यक्रमबाट यस वर्ष पनि सयौं विपन्न तथा लक्षित नागरिक लाभान्वित भएका छन् ।
ड्याक फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघअन्तर्गत गौर आँखा अस्पतालको प्राविधिक आयोजनामा सञ्चालित उक्त शिविरमा कुल ७ सय २३ जनाले आँखा परीक्षण गराएका छन् । लाभान्वित हुनेहरूमा ३ सय ९२ महिला र ३ सय ३१ पुरुष रहेका छन्, जसमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् ।
शिविरमा १ सय ६५ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ । १ सय ५४ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ भने २ सय ५७ जना बिरामीमा मोतिविन्दु लगायतका गम्भीर समस्या देखिएकाले उनीहरूलाई थप उपचार तथा निःशुल्क शल्यक्रियाका लागि गौर आँखा अस्पतालमा रेफर गरिएको हो ।
शिविरमा गौर आँखा अस्पतालका तर्फबाट ११ सदस्यीय दक्ष प्राविधिक टोली खटिएको थियो । टोलीमा अशोक पासवान, अमित दास, दिनेश घिमिरे, जितेन्द्र साह, राम अयोध्या यादव, परधुमान यादव लगायतका विशेषज्ञहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक सत्येन्द्र पाण्डेका अनुसार, शिविरमा छनोट भएका बिरामीहरूको शल्यक्रिया आगामी आइतबारदेखि शुक्रबारसम्म गौर आँखा अस्पतालमा गरिने भएको छ । शल्यक्रियाका लागि जाने बिरामीहरूका लागि समाजसेवीहरूको निजी खर्चमा खानपान, चिया–नास्ता र आवश्यक आवासको पूर्ण व्यवस्थापन गरिएको पाण्डेले जानकारी दिए ।
आफ्ना स्वर्गीय बुवा मदनमोहन श्रीवास्तव र आमा कृष्णदेवीको पुण्य स्मृतिमा श्रीवास्तव दाजुभाइले विगत १० वर्षदेखि यो अभियान चलाउँदै आएका छन् । ‘हामी कुनै राजनीतिक लाभ वा दलगत स्वार्थका लागि नभई विशुद्ध मानवीय सेवाका लागि यस कार्यमा जुटेका हौं,’ समाजसेवी विजय र अजय श्रीवास्तवले संयुक्त रूपमा भने, ‘आफ्नै गाउँ–ठाउँका विपन्न दाजुभाइ, दिदीबहिनीले ज्योति पाएको देख्दा आत्मसन्तुष्टि मिल्छ। आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी ढङ्गले निरन्तरता दिनेछौं ।’
हनुमान मन्दिर चोकमा आयोजित उक्त शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका स्थानीयहरूका लागि ठुलो राहत पुर्याएको हो । आयोजकले आगामी दिनमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरूलाई समेत प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको हो ।