
काठमाडौं : सुनधारास्थित काठमाडौं केन्द्रीय कारागारका एक हजार दुई सय कैदी जेल बाहिर छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका ती कैदीहरू अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । केन्द्रीय कारागारका अनुसार अझै १ हजार दुई सय कैदी फरार छन् ।
कारागारमा जम्मा ३ हजार ८ सय जना कैदी थिए । आन्दोलनको मौका छोपेर कारागार तोडफोड गरेर ३ हजार ५ सय १६ जना कैदी भागेको केन्द्रीय कारागारका सूचना अधिकारी बैकुण्ठ रेग्मी बताउँछन् ।
कर्तव्य ज्यान, हत्या, जबरजस्तीकरणी, चोरी, डकैतीलगायतका विभिन्न अपराध गरेर जेल चलान भएका कैदीहरू भागेका हुन् । ‘त्यसमध्ये भागेका केही कैदीहरू आफैं सम्पर्कमा आएका छन्, ‘१२ सय वढी कैदी त फरार नै छन्,’ उनले भने, ‘प्रहरीले खोजिरहेको छ ।’ बाँकी सम्पर्कमा नआएका कैदीहरूको विवरण कारागार व्यवस्थापन विभागमा पठाइएको उनले बताए ।
केन्द्रीय कारागारमा सञ्चालनमा रहेका तीन वटा कैदी विद्यालयबाट पनि कैदी विद्यार्थी फरार छन् । केन्द्रीय कारागारभित्र स्थापना भएको स्कुल जगन्नाथ माध्यमिक विद्यालय, बन्दी विकास आधारभूत विद्यालय र महिला बन्दी विकास आधारभूत विद्यालयमा गरेर करिब ८ सय कैदी विद्यार्थीले कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका छन् ।
जगन्नाथ माध्यमिक विद्यालयमा ३ सय ४० जना कैदी विद्यार्थी अहिलेसम्म फरार रहेको केन्द्रीय कारागारले जनाएको छ । त्यस्तै बन्दी विकास आधारभूत विद्यालयमा ९० जना विद्यार्थी फरार छन् । त्यस्तै महिला बन्दी विकास आधारभूत विद्यालयमा ५० कैदी विद्यार्थीहरू फरार रहेको कारागारका सूचना अधिकारी रेग्मीले बताए ।
त्यस्तै ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २ सय ८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् । नख्खु कारागार प्रमुख दीर्घराज उपाध्यायले फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी रहेको बताएका छन् ।
गत भदौ २३ र २४ गते जेनजीले गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका कतिपय आफैं फिर्ता भएर कारागार पुगेका छन् । गृह मन्त्रालयले गत कात्तिक ११ गते फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठुलो संख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन ।
केन्द्रीय कारागार व्यवस्थापन विभागका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपाल भर १४ हजार ५ सय ५९ जना जेल तोडफोड गरेर भागेका थिए । त्यसमध्ये ९ हजार ९ सय ८६ जना कारागारमा फर्किएका छन् । अझै ४ हजार ५ सय ५२ जना कैदी सम्पर्कमा नआएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
‘केही कैदीहरू आफैं सम्पर्कमा आएका छन्, केहीलाई भने प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘सम्पर्कमा नआएका बाँकी कैदीहरूलाई तोकिएको सजायमा जेल तोडफोड, आगजानीलगायतका थप मुद्दा चलाइनेछ ।’
गृह मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।
कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो ।
कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ ।
प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए। यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए ।