काठमाडौं : नेपाल र मलेसियाका राष्ट्रिय मानव अधिकार संस्थाहरूबीच वैदेशिक रोजगारमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार राष्ट्रिय मानवधिकार आयोग नेपालका अध्यक्ष तपबहादुर मगर र मानव अधिकार आयोग मलेसिया (सुहाकाम) का अध्यक्ष ओथमान बिन हासिमले क्वालालम्पुरमा दुवै देशमा रहेका आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणको उद्देश्यसहित ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी आगामी दुई वर्षसम्म कायम रहने राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ ।
आप्रवासी कामदारको विषय हेर्ने आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले समझदारीपत्र कार्यान्वयनको लागि कार्यान्वयन योजना बनाई दुबै आयोगले सम्पर्क अधिकृत तोकी ६÷६ महिनामा समन्वयका लागि बैठक गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
समझदारीपत्र विशेष गरी आप्रवासी श्रमिकहरूलाई कानूनी सहयोग, अध्यागमन, कारागार र हिरासत कक्षहरूको संयुक्त अनुगमन, उजुरीमा सम्बोधन, उजुरी र सूचना आदान–प्रदान, रोजगारदाताहरूलाई प्रशिक्षण तथा प्राविधिक सहयोग लगायत विषयमा केन्द्रित रहेको छ ।
समझदारीपत्र हस्ताक्षर अगाडि सुरक्षित आप्रवासन सम्बन्धमा लामो छलफल भएको बताइएको छ । छलफलमा अध्यागमन कानूनको प्रक्रियागत सरलीकरण, भर्ना प्रक्रियामा रहने कतिपय अनधिकृत एजेन्टहरुका कारण आप्रवासी कामदारहरुले रोजगारीबारे सही सूचना नपाएको, रोजगारको लागत बढेको, मलेसियामा नेपाली कामदारहरुको मृत्यु, आत्महत्या बढेको, पीडित कामदारको न्यायमा पहुँच जस्ता विषयहरुमा छलफल भएको थियो ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आयोगका सदस्य लीली हजुर बस्न्यात थापा, आयोगका कामु सचिव मुरारी प्रसाद खरेल, मलेसियास्थित नेपाली दूतावासका उपप्रमूख मोतीबहादुर श्रीसलगायतको उपस्थिति रहेको थियो । मानव अधिकार आयोग मलेसियाका तर्फबाट उपाध्यक्ष जोसेफ जेराल्ड र अन्य आयुक्त तथा सम्बन्धित विभागका कर्मचारीहरु सहभागी थिए । आयोगले यस अगाडि कतार तथा दक्षिण कोरीयाको मानव अधिकार आयोगलगायतसँग पनि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies