२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

डोल्पा घटना : युवक बेपत्ता प्रकरणमा प्रहरी र स्थानीयबीच झडप

shivam cement
पूर्ण सार्की
२०८२ पुष २१ गते ०६:३०
Shares
डोल्पा घटना : युवक बेपत्ता प्रकरणमा प्रहरी र स्थानीयबीच झडप

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङमा युवक बेपत्ता प्रकरणले स्थानीय र प्रहरीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि सिंगो जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ भने भेरी कोरिडोरअन्तर्गतको सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ ।

घटना शुक्रबार साँझ करिब ५ः३० बजेको हो । त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित छेप्के झोलुंगे पुलको घुम्तीमा प्रहरीचौकी करवगाडबाट खटिएको नियमित तथा अनुसन्धान टोलीले चेक प्वाइन्ट राखेर सवारीसाधन तथा व्यक्तिको जाँच गरिरहेको थियो । ल्हाँ निवासी ३४ वर्षीय जुन रोकाया त्यही पोस्टनजिकबाट भेरीमा हाम फालेर बेपत्ता भएपछि विवाद बढेको हो । प्रहरीले आफ्नो टोली देखेपछि उनी आफैं नदीमा हाम फालेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब निरीक्षक रुकबहादुर खड्काले मध्यान्हसँग भने, ‘शंकास्पद वस्तु ओसारपसार हुँदै छ भन्ने सूचना थियो । सो सूचनाका आधारमा प्रहरीले चौकीभन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो । तर प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका हुन् ।’

बेपत्ता युवकले भेरीमा हाम फालेको सूचना पनि आफूहरूलाई स्थानीय एक गोठाला बालकले  दिएको खड्का बताउँछन् ।  

रोकाया प्रहरीलाई देखेर भागेर बेपत्ता भएको प्रहरीले दाबी गरे पनि स्थानीयले भने उनलाई प्रहरीले नै बेपत्ता पारेको आरोप लगाएका छन् । यही विषयलाई लिएर आक्रोशित स्थानीयले शनिबार अपराह्न खदाङस्थित इलाका प्रहरीचौकी करवगाड घेराउ गरेपछि स्थिति चर्किएको थियो ।

प्रहरीले भेरीमा बेपत्ता परेको भन्दै करिब २ सय स्थानीय प्रहरीचौकी घेराउ गएपछि प्रहरीबीच भनाभन र झडप भएको थियो । अवस्था तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गर्दै साम्य बनाउन खोजिए पनि स्थिति नियन्त्रणभन्दा बाहिर गयो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्रबहादुर बडुवाल तथा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थलतर्फ परिचालनसमेत गरियो ।

शनिबार दिनभर प्रहरीचौकी घेराउ र तोडफोडसमेत भएको थियो । सो क्रममा केही समय खदाङ क्षेत्र तनावग्रस्त बनेको थियो । हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्दै अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता युवक रोकायाको खोजी कार्यमा आइतबार बिहानदेखि सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहित तीव्र बनाइएको छ । घटनास्थलदेखि डोल्पा–रुकुम पश्चिमको सिमाना त्रिवेणी बजारसम्म भेरी नदी क्षेत्रकेन्द्रित खोजी गरिए पनि ४८ घण्टा बितिसक्दा समेत युवकको कुनै अत्तोपत्तो लागेको छैन ।

घटनापछि आक्रोशित स्थानीयले शनिबार साँझदेखि यातायात अवरुद्ध गरेपछि भेरी कोरिडोरअन्तर्गत पर्ने सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । स्थिति थप जटिल नहोस् भनी डोल्पा भित्रिने सवारीसाधन त्रिवेणी बजारमा र डोल्पाबाट बाहिरिने सवारीसाधन त्रिपुराकोट बगर बजारमा रोकिएको छ । यातायात ठप्प हुँदा सिंगो जिल्ला प्रभावित बनेको छ ।

घटनाबारे छलफल तथा समाधान खोज्न त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जनप्रतिनिधिसहितको बैठक बसे पनि कुनै निष्कर्ष आएन । बेपत्ता युवकका केही आफन्तले जिल्ला प्रहरी कार्यालयमा पनि धर्ना दिइरहेका छन् ।  

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्ती मगरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर खड्का र प्रहरी सहायक निरीक्षक (असई) प्रेमप्रसाद शर्मा सदस्य सदस्य रहेको टोली आइतबार साँझ मात्रै डोल्पा पुगेको छ ।

सम्बन्धित खबर