२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गाँजाको जोहो गर्न लुटपाट र हत्याको शृंखला

shivam cement
सपना बोहरा
२०८२ पुष २१ गते ०६:४५
Shares
गाँजाको जोहो गर्न लुटपाट र हत्याको शृंखला

काठमाडौं : गत असोज २६ गते राति ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको हत्या गरियो । उनी खेती किसानी गरेर गाउँमै बस्ने एकल महिला थिइन् । हतियारधारी समूहले दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी उनको बीभत्स हत्या गरेका थिए । हत्यापछि उनको घरमा रहेका नगद तथा सुनका गरगहना लुटपाट गरियो । छिमेकीले घरबाहिर रगत देखेपछि शंका लागेर हेर्दा उनीहरूको शव भेटिएको थियो । 

ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ भदौरेमा गत पुस १५ गते ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भयो । उनीहरूलाई सुरुमा कुटपिट र पछि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । श्रीमान् श्रीमतीलाई दाहिनेपट्टिको कन्चट तथा कानको भागमा प्रहार गरी बीभत्स हत्या गरेर स्याउलाले छोपेर लुकाइएका थिए । उनीहरूले पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा सुनको गरगहना र काँचो सुनसमेत गरी ६ तोलासमेत लुटपाट गरी लगेका थिए ।  

दुई महिनाको अवधिमा एकै प्रकृतिको घटना घट्दा स्थानीय त्रसित भए । हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरी गहिरो अनुसन्धानमा जुट्यो । अनुसन्धान क्रममा दुवै घटनाको रहस्य पत्ता लागेको प्रहरीले जनाएको छ । हत्या गर्ने हत्यारा टाढाका थिएनन् ।  चिशंखुगढी गाउपालिका–३ का २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ का दोर्जे भनिने अशोक भुजेल रहेको प्रहरीले जनाएको छ । दुवै घटनामा संलग्नताको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकामाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट हत्या तथा लुटपाटमा प्रयोग भएको चक्कु, ७ दशमलव ६५ एमएमका गोलीका खोका, मोबाइल, गरगहना, नगद बरामद गरेको छ । घटनामा संलग्न अभियुक्तलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले तालिम प्राप्त कुकुरको सहयोगमा पक्राउ गरिएको हो । रत्नकुमारीको हत्या गरेका राई दोस्रो घटना भएको पाँच दिनपछि पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीले लुटपाट गर्ने उद्देश्यले हत्या भएको बताउँछन् । ‘उनीहरू गाजा सेवन गर्ने दुर्व्यसनी हुन्,’ उनले भने, ‘लुटपाट गर्ने क्रममा ज्यान मार्नेसम्म अपराध गरे ।’ 

पहिलो घटनाको अनुसन्धान गर्ने क्रममै दोस्रो घटना भएको र उस्तै प्रकृतिको घटना भएकाले उनीहरूलाई नै शंका गरेर राखेर अनुसन्धान गरिएको उनले बताए । पहिले लुटपाट गर्ने अनि परिचय खुल्ने डरले हत्या गर्ने गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् ।

सम्बन्धित खबर