
काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय बिजय गुरूङ रहेका छन् ।
पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रूपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आईतेलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका–१४ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा बिजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।