
विराटनगर : कोशी प्रदेश सरकार पुनर्गठन हुने भएको छ । स्रोतका अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनभित्रै नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी गरेका छन् ।
लामो समयदेखि सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रालयको भागबन्डा टुंगो नलाग्दा कोशी सरकार पुनर्गठन हुन सकेको थिएन । हाल दुवै दलका शीर्ष नेताहरूबीच मन्त्रालयको भागबन्डा टुंगो लागेसँगै सरकार पुनर्गठनको प्रक्रिया अघि बढेको हो ।
नेपाली कांग्रेसका सांसद भीम पराजुलीले सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन् ।
उनका अनुसार दलभित्रको छलफल लगभग टुंगिएको छ र अब मन्त्रीहरूको नाम सार्वजनिक गर्न मात्रै बाँकी रहेको छ ।
सरकार पुनर्गठन हुने भएसँगै अब बन्ने मन्त्रीहरूको विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) तर्फबाट मन्त्री बन्न आधा दर्जनभन्दा बढी सांसदहरूको आकांक्षा रहेको बताइएको छ ।
एमाले स्रोतका अनुसार प्रमुख सचेतक विदुर लिङ्थेप, चिन्तन पाठक (तिलचन), निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम, जयप्रकाश चौधरी, रामप्रसाद मेहता र मिना श्रेष्ठमध्ये चार जनाले मन्त्री बन्ने अवसर पाउनेछन् ।
नेपाली कांग्रेसको तर्फबाट भने चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भइसकेको छ । कांग्रेसभित्रको शक्ति सन्तुलनअनुसार डा.शेखर कोइराला समूहबाट मानबहादुर लिम्बू, कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली तथा संस्थापन पक्षबाट इसराइल मन्सुरी र प्रदीप सुनुवार मन्त्री बन्ने पक्का जस्तै भएको स्रोतले जनाएको छ ।
हालको मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट रामबहादुर रानामगर आर्थिक मामिला तथा योजना मन्त्री, पाँचकर्ण राई सामाजिक विकास मन्त्री, रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री तथा एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारीमा छन् । सिर्जना राई राज्यमन्त्रीको भूमिकामा रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्री तथा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री छन् । कांग्रेसबाट भूमि राजवंशी राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।