२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रौतहटमा शंकास्पद १६ सवारी साधन प्रहरी नियन्त्रणमा

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २२ गते १७:३४
Shares
रौतहटमा शंकास्पद १६ सवारी साधन प्रहरी नियन्त्रणमा

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सुरक्षा जाँच अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमा ४ वटा चारपाङ्ग्रे गाडी (बोलेरो जिपसहित) र १२ वटा मोटरसाइकल रहेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले मुख्य सडक र नाकाहरूमा आकस्मिक चेकजाँच गर्दा आवश्यक कागजात नभएका, नम्बर प्लेट स्पष्ट नभएका तथा शंकास्पद रूपमा सञ्चालन भइरहेका सवारी साधन फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रुद्रराज कँडेलका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरू चोरीका हुन् वा भन्सार छलेर भित्र्याइएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

“शंकास्पद देखिएका सवारी साधनहरूलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं,” उनले भने, “सवारी धनीहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन सूचित गरिनेछ र तथ्य–प्रमाणका आधारमा थप कानुनी कारबाही अघि बढाइनेछ ।”

सीमावर्ती जिल्ला भएकाले अवैध सवारी साधनको प्रयोग तथा ओसारपसार हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पछिल्लो समय सुरक्षा जाँचलाई थप कडा बनाएको जनाएको छ । बरामद सवारी साधनसम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर