२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

भेनेजुएलाको घटनाबाट के पाठ सिक्ने ?

shivam cement
राम पौडेल (लवहरी)
२०८२ पुष २३ गते ०६:००
Shares
भेनेजुएलाको घटनाबाट के पाठ सिक्ने ?

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र हस्तक्षेपले नेपालजस्ता साना मुलुकलाई एक गम्भीर पाठ सिकाएको छ । विश्व राजनीति सधैँ सिद्धान्त र विचारभन्दा शक्ति केन्द्र र राजनीतिक दुरदृष्टिका आधारमा चल्दछ भन्ने कुरा बुझ्न जरुरी छ । अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार र लोकतन्त्रका कुरा ठूला राष्ट्रका अगाडि निरीह र ओझेलमा पर्ने गर्दछन् र प्रायः आफ्ना स्वार्थअनुसार प्रयोग हुने गर्छन् भन्ने कुरा अमेरिकाले गरेको हस्तक्षेपले स्पष्ट गरेको छ । भेनेजुएलामाथि अमेरिकी आक्रमण हुनु त्यहाँभित्रको राजनीतिक मुख्य होइन, बरु मुख्य कारण त्यहाँको प्राकृतिक स्रोत र साधन हो । विशेषगरी भेनेजुएलाको विशाल तेल भण्डारण हो ।

ठूला शक्ति राष्ट्रहरूसँग नेपाल र नेपालका राजनीतिक दलहरूले सिक्नुपर्ने कुरा भनेको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता केवल भाषण र चुनावी खोस्टोमा मात्रै नभई व्यवहारमा पनि लागू गरिनुपर्छ । देशभित्र राजनीतिक अस्थिरता, सत्ता र कुर्सीको लागि निरन्तर आपसी झगडा र संस्थागत कमजोरीले गर्दा बाह्य शक्ति राष्ट्रहरूलाई सानो र कमजोर राष्ट्रहरूमा राजनीतिक हस्तक्षेप गर्न सजिलो बनाउँछ । यसैले भेनेजुएलामा जसरी हस्तक्षेप भयो, यसको कारण केलाउँदै आफू जोगिने उपाय खोज्नुपर्छ । भेनेजुएलामाथि अमेरिकाले आक्रमण गर्नुमा केही त्यहाँभित्रका कारण पनि छन् भन्नेलाई हेक्का राख्नुपर्छ । विशेषगरी नजिकै रहेको अमेरिकालाई वेवास्था गर्दै रुस र चीनसँग एकपक्षीय शैलीमा सम्बन्ध गाँस्नु पनि भेनेजुएलाका लागि समस्या बनेको देखिएको छ । 

यहाँ महत्वपूर्ण कुरा के हो भने, हामी जस्तो आर्थिक र भौगोलिक दृष्टिले सानो र भूपरिवेष्ठित राष्ट्रले छिमेकी देश र तेस्रो मुलुकसँग राजनीतिक, कूटनीतिक र व्यापारिक सम्बन्धमा सन्तुलन कायम गर्न नसके भने ठूला शक्ति राष्ट्रहरूको निशानामा पर्ने खतरा सधैं रहन्छ । तिनीहरूको सैन्य शक्ति र राजनीतिक प्रभावले हामी माथि खेल खेल्न सहयोग पुर्‍याउँछ । त्यसकारण, नेपालले कुनै एक राष्ट्रको पक्षमा मात्र वकालत नगरी सबै राष्ट्रसँग राजनीतिक र कूटनीतिक सन्तुलन राख्न सक्दा, कुनै पनि शक्तिको राजनीतिक निशानामा पर्ने सम्भावना कम हुन्छ ।

प्राकृतिक स्रोतले सम्पन्न भए पनि भेनेजुएला आर्थिक प्रतिबन्धका कारण संकटमा परिरहेको थियो । यसले देखाउँछ कि कमजोर अर्थतन्त्र भएका देशहरू राजनीतिक दृष्टिले पनि कमजोर र अस्थिर बन्ने गर्छन् । त्यसकारण, नेपाल जस्ता देशले आफ्नो अर्थतन्त्रलाई कसरी उकास्ने र कसरी मुलुकलाई जोगाउँदै अघि बढ्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेप नेपालका लागि पनि एउटा ठूलो पाठ हो । एकातिर हामीले बाह्य सम्बन्धलाई ध्यान दिन आवश्यक छ भने अर्कोतिर आन्तरिक राजनीतिलाई पनि अस्थिरता हुनबाट जोगाउनु पर्छ । यदि हामी आफैंभित्र समस्या सिर्जना गर्न थाल्यौं र बाह्य सम्बन्धमा खेलबाड गर्न थाल्यौं भने भेनेजुएला वा युक्रेनको उदाहरण बन्न बेर लाग्दैन । त्यसकारण, मुलुक निर्माण र बचाउ गर्नका लागि दीर्घकालीन सोच र राजनीतिक स्थिरता आवश्यक छ । यहाँका पुराना दल र नयाँ उदाएका वैकल्पिक शक्तिहरू बीच आपसी मेलमिलाप र सहकार्यको माध्यमबाट मात्र मुलुक निर्माण सम्भव हुनेछ र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुनेछ । यसरी, विदेशी शक्ति राष्ट्रहरूको हस्तक्षेपिय भूमिका कमजोर हुने छ ।

सम्बन्धित खबर