२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बाबुको निधनपछि बिचल्लीमा बालबच्चा, सहयोगको अपिल

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष २३ गते २०:१६
Shares
बाबुको निधनपछि बिचल्लीमा बालबच्चा, सहयोगको अपिल

प्यूठान : प्यूठानको झिमरुक गाउँपालिका–७ का शिवलाल जैसीको ७१वर्षको उमेरमा निधन भएपछि उनका छोराछोरी र अपांग श्रीमतीको जीवन अत्यन्तै कष्टकर बनेको छ । मुटुरोगको समस्याले लामो समयदेखि थलिएका जैसी लडेर घाइतेसमेत भएका थिए । उनको उपचारकै क्रममा निधन भएको हो ।

शिवलाल जैसीको निधनपछि घरमा १३ वर्षका छोरा सजन, १० वर्षकी छोरी र अपांग श्रीमती छिन् । छोराछोरीसँग आमा रिमा जैसी भएपनि उनीहरू सुरक्षित र ढुक्क हुने अवस्था छैन । कारण आमा अपांग छिन् । 

उनी राम्रोसँग कान सुन्दिनन्, बोल्न सक्दिनन् र सुस्त मनस्थितीकी छन् । आमाको हेरचाह गर्नुपर्ने जिम्मेवारी उल्टै यी छोराछोरीमाथि परेको छ । जसका कारण  उनीहरूको अवस्था झनै दयनीय बनेको छ ।

बुबाको निधनपछि छोरा, छोरी र आमा अहिले काजक्रियामा  छन् । तर परिवारका लागि सबैभन्दा ठुलो समस्या बुबाको १३औं दिनको काजक्रियाको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने बनेको छ । दैनिक जीवन कसरी चलाउने भन्ने चिन्ता त छँदैछ, भविष्यको पीडाले परिवारलाई झनै पिरोलेको छ ।

‘हामी सानै हुँदा बुबा बित्नुभयो, हामी निकै दुखी छौं । सबै आश बुबासँगै थियो, अब हामीले के गर्ने ?’१३ वर्षीय सजनले पीडा पोखे । उनले थपे,‘घरमा खाना खर्च जुटाउन पनि समस्या छ । बुबाको क्रिया खर्च कसरी उतार्ने भन्ने चिन्ता भइरहेको छ ।’

सजन प्यूठानको एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन् भने उनकी बहिनी सोही विद्यालयमा कक्षा ५ मा पढ्दै छिन् । बुबाले मजदुरी गरेर भएपनि परिवारको घरखर्च चलाउँदै आएका थिए । तर बुबाको निधनपछि नाबालक छोराछोरीको बिचल्ली भएपछि सहयोगका लागि छिमेकीहरूले समेत सार्वजनिक अपिल गरेका छन् । पढाइ–लेखाइ र बिहान–बेलुका दुई छाक जुटाउन परिवारलाई हम्मेहम्मे भएपछि सुवेदी परिवारले सबैसँग सहयोगको अपेक्षा गरेका छन् । 

अभिभावक बने झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल सुवेदी परिवारको दर्दनाक पीडा थाहा पाएलगत्तै झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा नेपाली कांग्रेस प्यूठानका सहसचिव प्रमोद पोख्रेल उनीहरूको घरमा पुगेका छन् । यसअघि पनि झिमरुक गाउँपालिका तथा प्यूठानका विभिन्न पीडित परिवारको घरमा पुगेर सहयोग संकलन गर्ने, बिरामीलाई उपचारका लागि सहयोग गर्ने काम गर्दै आएका उपाध्यक्ष पोख्रेलले यस परिवारको पीडामा पनि साथ दिएका छन् । उनीहरुको अवस्था देखेपछि पोख्रेल सहयोग संकलनमा जुटेका हुन् । 

‘आमाले केही गर्न सक्ने अवस्था छैन, बालबालिका अत्यन्तै पीडादायी अवस्थामा छन्,’उपाध्यक्ष पोख्रेलले भने, ‘मैले सक्दो सहयोग गरेको छु, तपाईंहरू सबैले पनि सहयोग गरिदिनुहोस् ।’
उनले सार्वजनिक रूपमा सबैलाई सहयोग गर्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत पनि अपिल गरेका छन् । 

‘सबैले सहयोग गरेर यी नाबालक छोराछोरीको भविष्य उज्यालो बनाइदिन आग्रह गर्दछु,’उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

हाल उपाध्यक्ष पोख्रेलले पीडित परिवारका लागि खानेकुराको जोहो, विद्यालय जान कापी–कलम तथा कपडाको व्यवस्थापन गरिदिएका छन् । तर दीर्घकालीन रूपमा पढाइ, जीवनयापन र आमाको हेरचाहका लागि अझै व्यापक सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन् । 

सम्बन्धित खबर