
काठमाडौं : एमबिबिएस तयारी गरिरहेका एक विद्यार्थीको मोबाइलमा अनलाइन इन्भेस्टको अफर आयो । अपरिचित व्यक्तिबाट अनलाइनमार्फत गिफ्ट, बोनसलगायतका अफर आइरहे । घरमै बसेर मोबाइलमा भिडियोहरू हेर्नुपर्ने, लाइक सेयर गर्नुपर्ने र सुरुमा थोरै रकमको लगानी गर्नुपर्ने भन्दै आएका अफरले उनी आकर्षित हुँदै गए । थोरै लगानीले छिट्टै दोब्बर आम्दानी र बोनस पाइने लोभले उनले दायाँबायाँ केही सोचेनन् । किस्ता–किस्तामा गरेर ४० लाख रुपैयाँ लगानी गरे । सुरुसुरुका थोरै लगानीमा उनले दोब्बर रकम पनि पाए । त्यही लोभले लगानी बढाउँदै गए । एमबिबिएस पढन जम्मा गरेको सबै रकम अनलाइन इस्क्याममा लगानी गरिसक्दा बल्ल उनले आफू ठगिएको थाहा पाए । ‘भिडियो लाइक गर्ने, हेर्ने र सेयर गर्नेभन्दा भन्दै लगानी बढ्दै गयो । सुरुमा थोरैथोरै पैसा पनि आयो, त्यही लोभले बिलाप भयो’ उनी भन्छन्, ‘अन्तिममा एमबिबिएस पढ्न राखेको रकम पनि सकियो । म नराम्ररी ठगिएँ ।’ उनले एक वर्षमा ४० लाख ठगिएको बताए ।
अर्का एक सरकारी कर्मचारीले पनि २५ लाख रुपैयाँ ठगिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । ब्युरोका अनुसार उनी सरकारी अधिकृत हुन् । तर अनलाइनबाट रातारात पैसा कमाउने लोभले उनी पनि ठगिए । उनलाई पनि थोरै लगानीमा धेरै आम्दानी तथा बोनसहरूको प्रलोभन दिइएको थियो । त्यही लोभमा २५ लाख ठगिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
एड्भरटाइजिङ सर्भिस सेन्टर (एसएमसिएन)बाट ठगिएको भन्दै अर्का व्यक्ति पनि बुधबार साइबर ब्युरोमा उजुरी दिन गएका थिए । उनी ५ लाख रुपैयाँ ठगिएको भन्दै ब्युरोमा रिपोर्ट लेखाउँदै थिए । ‘३ हजार लगानी गर्यो भने महिनामा बोनस, ब्याज गरेर ९ हजार रुपैयाँमा आउँछ भन्दै अफर आयो,’ साइबर ब्युरोमा भेटिएका उनले भने, ‘सुरुमा त पैसा पनि दियो । त्यही प्रलोभनमा परेर आफन्त, साथीभाई सबैसँग ऋण मागेर लगानी गरें । अहिले त्यो एप बन्द भइसकेको छ ।’ आफू ठगिएको थाहा पाएपछि उनी ब्युरोमा उजुरी दिन आएका हुन् ।
यी घटना त उदाहरण मात्र हुन् । ब्युरोमा विभिन्न स्क्याममा ठगिएको भन्दै उजुरी गर्न आउनेहरूको संख्या बढेको छ । ब्युरो परिसरमा मात्र होइन, ब्युरो वरिपरि रहेका खाजा घर, फोटो कपी तथा चिया पसलमा उजुरी लेखाउनेहरू प्रशस्तै भेटिए । दिनहुँ लाखांै रुपैयाँ ठगिएका उजुरी आउँदा त्यसको जालो ठुलो रहेको प्रहरी अनुमान छ । ‘मोबाइल हेरे पैसा कमाइन्छ भन्ने कस्तो मानसिकता भयो ? आजकालका युवाहरूमा दुःख नै नगरेर पैसा कमाउने भूत चढेको छ,’ आफन्त ठगिएपछि उजुरी गर्न सँगै गएका एक वृद्धले भने ।
पछिल्लो साढे पाँच महिनाको अवधिमा ब्युरोमा ३ हजार ८० जनाले ठगिएको भन्दै उजुरी दिएका छन् । विभिन्न अनलाइन अर्निङको प्लेटफर्म देखाएर स्क्यामहरू भुसको आगोजस्तै भित्रभित्रै लाखौं रकम लुटिरहेका छन् । साइबर ब्युरोका एसपी एवं प्रवक्ता दीपकराज अवस्थीका अनुसार शिक्षित मान्छेहरू नै लाखौं रुपैयाँ ठगिने गरेका छन् । उनले भने, ‘विभिन्न अनलाइन एपमार्फत घरमै बसेर भिडियो हेरेबापत आम्दानी हुने, थोरै लगानीमा धेरै नाफा कमाउन सकिनेजस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई जालमा पार्ने गरिएको छ ।’
ब्युरोका अनुसार एसएमसी एपबाट ठगिएको भन्दै २ सय ५५ जनाले उजुरी दिएका छन् । त्यस्तै, सोसल मिडिया ह्याक गरेको भन्दै ३ सय ७५ जना, बैंक वालेटसम्बन्धी १ सय २२ जना, बैंक ह्याकिङ गरेको भन्दै ५ सय ६ जनाले उजुरी दिएका छन् । विभिन्न लटरीमार्फत ठगिएको भन्दै ४ सय २८ जना, अनलाइन जब लगाउने भन्दै ठगी गरेको भन्दै ८ सय ३ जना, विभिन्न अनलाइन गेम (मास्टर कार्ड, पवजी)मा ठगिएको भन्दै २१ जनाले ब्युरोमा उजुरी दिएका छन् । अनलाइन मार्केटबाट ठगिएको भन्दै ३ सय ४० जना, अनलाइन टिकटबाट नौ जना, वैदेशिक रोजगारमा पठाउने भन्दै अनलाइनमार्फत ठगी गरेको भन्दै ३१ जनाले उजुरी दिएका छन् ।
पछिल्लो समय अनलाइनमार्फत ठगिनेहरूको संख्या बढ्दै गएको छ । अघिल्ला आर्थिक वर्षमा पनि उजुरीको संख्या ठुलो थियो । आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार ७ सय ४० र २०७९/८० मा ४ हजार १ सय ५४ जनाले ठगिएको भन्दै ब्युरोमा उजुरी दिएका थिए ।
ब्युरोका प्रवक्ता अवस्थीले चिट्ठा, उपहार ठगी, अनलाइन किनमेल ठगी, आकर्षक रोजगारलगायतका अनलाइन ठगीहरू भइरहेको बताए । ‘अहिलेसम्मको अनुसन्धानले चाइना र इन्डियाका स्क्यामरहरूले केही नेपालीलाई प्रयोग गरेको पाइएको छ,’ प्रवक्ता अवस्थीले भने, ‘नेपालीहरूले आफ्नो बैंक एकाउन्ट प्रयोग गर्न दिनु नै ठुलो गल्ती हो ।’ स्क्यामरहरूले मेल, मेसेन्जरमार्फत शंकास्पद लिंकहरू वा आकर्षक सन्देश पठाउने गरेको उनले बताए ।