
उदयपुर : उदयपुरमा प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–१० बोक्सेचोक नजिकबाट ४५० एम्पुल प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने अन्दाजी ३२ वर्षीय जहान सिंह खत्री रहेको प्रहरीले जनाएको छ । खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागूऔषध, नगद ३८ हजार ६० रुपैयाँ, एक थान मोबाइल, सुनको जस्तो देखिने चन्द्रमा एक थान र एक थान औंठी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।